संस्कृत विद्यालयमा हाइड्रो इन्जिनियरिङ पढाइ

प्रयास लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको एक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत हाइड्रोपावर इन्जिनियरिङ विषयको पढाई हुने भएको छ । हालसम्म जिल्लाको एक मात्र संस्कृत पाठशालाको रुपमा चिनिएको फुङ्लिङ नगरपालिका–३ को बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा डिप्लोमा इन हाइड्रोपावर इञ्जिनियरिङको पढाई हुने भएको हो । ‘प्राविधिक शिक्षा, आजको आवश्यकता’ भन्ने पछिल्लो सर्वमान्य नाराअनुसार प्राविधिक शिक्षाको पढाइ सुरु गर्न लागिएको सो विद्यालयले जनाएको छ । सीटीईभीटीले प्रकाशित गर्ने सूचनाअनुसार पढाइका लागि आवेदनको तयारी गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले जानकारी दिए ।

यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षाअन्तर्गत हाइड्रोपावर इञ्जिनियरिङ बिषयको पढाइ सञ्चालन गर्ने अनुमति प्राप्त गरी तयारीलाई अघि बढाइएको प्रधानाध्यापक दाहालले बताए । हालसम्म हाइड्रोपावर इन्जिनियरिङको पढाइ देशभरमै न्यून रहँदै आएकोमा पढाइ सञ्चालन गर्ने आफ्नो बिद्यालय पनि थपिएकोमा प्रअ दाहालले प्रसन्नता व्यक्त गरे । पढाइ सञ्चालनका लागि फर्निचर, कम्युटरसहितका प्राविधिक उपकरण र अन्य आवश्यकीय पूर्वाधारको निर्माण तथा व्यवस्थापनको कार्य पूरा भएको विद्यालयले जनाएको छ । अब सीटीईभीटीले भर्ना आवेदन खुल्ला गर्नासाथ बिद्यालयले दरखास्त लिने प्रधानाध्यापक दाहालले जानकारी दिए ।

तीन वर्षे कोर्षको पढाइका लागि बाल सुबोधिनी माविलाई अधिकतम् ४८ जना बिद्यार्थीको अध्ययन कोटा तोकिएको छ । विद्यालयले पाएको कोटाअनुसार चारजना विद्यार्थीले भने पूर्ण रुपमा निःशुल्क अध्ययन गर्नेगरी छात्रवृत्तिको व्यवस्था रहेको छ । हाइड्रोपावर इञ्जिनियरिङका लागि एक वर्षमा दुईवटा सेमेष्टरको पढाइ हुने जनाइएको छ । पहिलो वर्ष पहिलो सेमेष्टर ७०० र दोस्रो ८२५ पूर्णाङ्कको हुने विद्यालयक शिक्षक शान्तिराम नेपालले जानकारी दिए । यस्तै दोस्रो वर्षको पहिलो सेमेष्टर ९०० र दोस्रोमा ८०० तथा तेस्रो वर्षको पहिलो सेमेष्टर ९०० र दोस्रो ८५० पूर्णाङ्कको हुने छ । हाइड्रोपावर इन्जिनियरिङ शिक्षा अध्ययन गर्नका लागि विज्ञान विषय अध्ययन गर्न सक्ने बिद्यार्थी हुनुपर्ने छ । एसईई उत्तीर्ण गर्नेमध्ये कुल प्राप्ताङ्कमा २ जीपीए र अंग्रेजी विषयमा ‘डी प्लस’ तथा विज्ञान र गणितमा ‘सी’ ग्रेड प्राप्त विद्यार्थीले मात्र आवेदन दिन पाउने छन् ।