पहिलो विश्व कीर्तिमानी गीतकार

काठमाडौं । धेरैका लागि लकडाउन शुभ रहेन । तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो । कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्व कीर्तिमान कायम गरेका छन् । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे । प्रमाणपत्र प्रदान गरे लगत्तै मन्त्री यादवले डा. उपाध्यायको कामले आफू हर्षित भएको उल्लेख गरे । डा. उपाध्यायले यसअघि पनि गीत संगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए । आइतबार एकै पटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् ।

उनले गीत संगितमा सामाजिक सद्भावको गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व कीर्तिमान कायम गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वमै एकैपटक यति धेरै विश्व रेकर्ड राख्ने डा. उपाध्याय नै पहिलो ब्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् । डा. उपाध्यायले समाजमा भैरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उदेश्यले अभिप्रेरित भै काम गरेको बताए । उपाध्यायले आजै संसारकै सानो गीति पुस्तक सार्वजनिक गरेका छन् । उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन् । डा. उपाध्यायले आफूले गीत विश्व रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको बताएका छन् । तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम विश्व रेकर्डमा लेखिन सफल भएको उपाध्यायले बताए । २०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको संगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ । डा. उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन् । गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन् । उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभव सबै कुरा अटाएका छन् ।