सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

रासस

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महीना पुग्दैछ । यस बीचमा गीतको म्यूजिक भिडिओले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महीना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन् । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन्। स्रोता र दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको छ । अहिले पनि गीतको भ्यूज निरन्तर बढिरहेको छ । पछिल्लो एक महीनामा झण्डै दश लाख पटक हेरिएको छ । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने । झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडिओ नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन् । हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने । गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रूपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्यूजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।