लगानी बोर्डका प्रमुख नियुक्तिलाई चुनौती

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्तिलाई चुनौती दिइएको छ । उनको नियुक्ति बदर गर्नुपर्ने मागसहितको उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। सोमबार भट्टको नियुक्ति विरुद्ध रिट दर्ता भएको हो । गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

आइतबार अधिवक्ता जयबहादुर भुजेलले मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भन्दै अन्तरिम आदेशको मागसहितको रिट लिएर अदालत पुगेका थिए । आइतबार भने समय अभाव र प्राविधिक कारणले गर्दा रिट दर्ता हुन सकेको थिएन । रिटमा भट्टको योग्यता र क्षमतामाथि प्रश्न उठाइएको छ । भट्टलाई बोर्डमा नियुक्ति गर्दा सो मापदण्ड नै नपुगेको रिटमा उल्लेख छ । दर्ता भएको रिटको पहिलो पेशी भने मंगलबारका लागि तोकिएको छ ।