बजेट सक्न गरिएको सडक कालोपत्रे काम गुणस्तरहीन
सुरुङ्गा । कनकाई नगरपालिका वडा नं. ६ र ७ लाई जोड्ने बिजुवानी मार्गमा गरिएको कालोपत्रे एकमहिना नवित्तै खाल्डो परेर पानी जम्न थालेको छ कनकाई नगरपालिकाले एककरोड बढी खर्चेर गरेको कालोपत्रे महिनादिन नबित्दै खाल्डो पर्नुले आवागमनमा असजिलो त भएको छ नै नगरपालिकाले गर्ने विकास निर्माणका कामको गुणस्तरप्रति पनि प्रश्न खडा गरेको छ । नगरपालिकाले बजेट सक्ने हतारोमा असारको अन्तिम सातामा उक्त बाटो कालोपत्रे गरेको स्थानीय बताएका छन् ।
कनकाई नगरपालिकाबाट ठेक्का पाएको भिमेश्वर कन्स्ट्रक्सन विराटनगरले १ करोड २ लाख ७६ हजार २६६ रुपैंयाको लागतमा २०७७ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ बैशाख ३१ गते कनकाई नगरपालिका र निर्माण कम्पनी बिच २०७७ वैशाख ३१ गतेका दिन सम्झौता भएको योजना बोर्डमा उल्लेख भएको देखिन्छ । लगभग दुई किलोमिटरको कालो पत्रे सडक निर्माणकालागि कनकाई नगर वडा नं. ७ बाट १० लाख, वडा नं.६ बाट २० लाख साथै कनकाई नगरबाट १५ लाख तथा प्रदेश १ को समपुरक बजेटबाट ७० लाख गरी ह्युम पाइप निर्माणसहितको कुल १ करोड १५ लाखको बजेट व्यवस्थापन गरिएको कनकाई ७ का वडाअध्यक्ष लिलाबहादुर कन्दङ्वाले जानकारी दिनुभयो ।
लकडाउनकै समयमा नगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौता बन्दका कारण निर्माण ढिलो हुने भएपछि बजेट फ्रिज हुन नदिन हतारमा सडक निर्माणको सम्पन्न गरिएको वडाअध्यक्ष कन्दङ्वाले बताउनु भयो । चार मीटरको चौंडाईमा कालो पत्रे निर्माण कार्य सम्पन्न भएको बिजुवानी मार्गलाई ३२ फिटको चौंडा बाटो बनाउँने गरी ह्युम पाइप जडान गरिएको कनकाई ६ का वडाअध्यक्ष लक्ष्मी ओलीले जानकारी दिनुभयो ।
इन्जिनियर, प्राविधिक, निर्माण कम्पनी साथै स्थानीय सरकारले बाटोको बस्तुस्थिती एवम् यसको बिगत र भविष्यको नजरअन्दाज नै नगरी भएको गुणस्तरहिन कामबाट स्थानीयबासी नै चकित भएको बताइएको छ । बिजुवानी मार्ग निर्माणको जम्मेवार पक्ष स्थानीय सरकार भएकाले स्थानीय जनप्रतिनिधीका अगाडी सर्वसाधारण चुपचाप रहेकै कारण निर्माण कार्य फितलो भएको उपभोक्ताको ठहर छ । निर्माण सम्पन्न भएको एक महिना पनि नवित्दै भत्किएको बाटोका विषयमा बुझ्न खोज्दा जनप्रतिनिधिबाट दबाब आएको एक स्थानीयले बताएका छन् ।
एक स्थानीय उपभोक्ताका अनुसार, प्रारम्भिक चरणमा ह्युम पाइपको काम सम्पन्न भएपछि सडक खण्डको राम्रोसँगले लेबल मिलाएर त्यसपछि सब बेस साथै बेस मिलाउँदै बाटो पेल्नुपर्ने भएपनि निर्माण कम्पनीले त्यसो नगरेको बताए । ती उपभोक्ताका अनुसार प्राइमकोट लगाइसकेपछि केही दिन सडकलाई सुकाएर ट्याककोट हालेपछि मात्र प्रिमिस कार्पेटिङ गर्नु पर्ने थियो । तर निर्माण कम्पनीको गुणस्तरमा भन्दा काम सक्नेतिरमात्र ध्यान जाँदा गुणस्तरको काम नभएको हो ।
बिजुवानी मार्गको कालो पत्रेमा देखिएको समस्याका बारेमा फोन मार्फत निर्माण कम्पनीका संचालक कृष्ण गुरुङ्लाई जिज्ञासा राख्दा समय छोटो भएपनि आफूले नम्स अनुसार नै काम सम्पन्न गरेको दावी गर्नुभयो । अन्तिम समयमा पनि सम्बन्धित इन्जिनियरबाट पास भएपछि मात्र काम जिम्मा लगाएको बताउदै सञ्चालक गुरुङले भन्नुभयो–‘निर्माण कार्यका लागि प्राविधिकको डिजाइन र निर्देशन अनुसार नै निर्धारित समयमा काम सम्पन्न गर्न हाम्रो सम्पूर्ण जनशक्ति त्यही खर्चियौं ।’
संचालक गुरुङका अनुसार बिजुवानी मार्गको दीर्घकालिन समाधानका लागि आरसीसी ढलान नै गर्नुपर्छ । उक्त बाटोको बीचभाग अत्यन्तै जोखिम मोल्ने किसिमको भएकाले अहिलेको जस्तो निर्माण कार्यले फेरी पनि समस्या आउँदैन भन्न सकिन्न गुरुङले भन्नुभयो–‘बाटोमा देखिएको समस्याबाट पनि आँफू नभाग्ने र नगरपालिकासँग समन्वय गरेर पुनः व्यवस्थित निर्माण कार्यमा आँफू जुट्न सकिन्छ ।’