झापामा आज नौ जना कोरोना संक्रमित थपिए
अस्पताल अभावले क्वारेन्टिनमै राखेर थप उपचार गरिँदै
भद्रपुर । नेपाल आर्मीका एक जवान सहित झापामा आज थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा आठ जना पुरुष र एक जना महिला रहेकी छिन् । जनस्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा गौरादह नगरपालिकाका पाँच, भद्रुपुर नगरपालिकाका एक महिला सहित तीन र कमल गाँउपालिकाका एक जना रहेका छन्, भने नेपाल आर्र्मीका जवान भद्रपुर नगरपालिकाकै रहेको बताइएको छ । आज संक्रमित हुनेहरु २३ देखी ४० वर्षसम्मका रहेका छन् ।
कोरोना संक्रमित राख्ने अस्पताल अभाव भएपछि आज थपिएका संक्रमितहरुलाई स्थानीय क्वारेन्टिनमै राखेर थप उपचार गरिने जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । अस्पतालमा ठाँउ अभावकै कारणले झापामा हिजो थपिएका पाँच जनाको पनि स्थानीय क्वारेन्टिनमै राखेर थप उपचार भईरहेको चम्लागाईले बताए । आज थपिएका सँगै झापामा कोरोना संक्रमितको कुल संख्या ४०७ पुगेको छ भने ३५४ जना निको भएर घर फरेकी सकेका छन् । आजमात्र झापामा थप ११ जनाको डिस्चार्ज भएको छ ।