हल्दिवारी गाउँ परिषद विवाद मिलेन

भद्रपुर । हल्दिवारी गाउँपालिकाको सातौं गाउँ परिषद विवाद अध्यक्ष र उपाध्यक्षको आ—आफ्नै अडानका कारण मिल्न नसकेपछि गाउँपालिका सञ्चालन अन्यौल बनेको छ ।

सातौं गाउँ परिषद बैठकमा उपाध्यक्षले कानुन विपरित काम गरेकोले सच्चिन अध्यक्षले आग्रह गरेपछि बहुमतमा रहेका उपाध्यक्ष पक्षले पूर्ववत अडान राखेपछि विवाद गाउँ सभा सञ्चालन हुन नसक्ने कारक बनिदाँ प्रशासनिक अन्यौल बनेको हो ।

सोमवार बस्ने भनिएको गाउँ परिषद बैठक सुरू हुनु अगावै अध्यक्ष रविन्द्र लिङदेनले गण पूरक संख्या नपुगेको भन्दै स्थकित गरेपछि उपाध्यक्ष डम्बरबहादुर गिरीले जनताका भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

यता अध्यक्ष ्र लिङदेन आफूमाथि साङ्घातिक आक्रमण गरी सातौं गाउँ परिषद बैठकबाट भगाएर उपाध्यक्ष गिरीले कानुनमा अध्यक्षले गर्न पाउने बजेट प्रमाणिकरणको अधिकार दुरूप्रयोग गरेकाले सञ्चाउनु पर्ने जिकिर गर्छन् ।

उता उपाध्यक्ष गिरी अध्यक्ष नभएका बेला कानुनले उपाध्यक्षलाई अध्यक्षताको अधिकार दिएको प्रष्ट पार्दै बहुमतले गरेको निर्णय कसैको जिद्धीमा नउल्टने बताउँछन् ।

कार्यपालिका सदस्य तथा वडानम्वर ४ का अध्यक्ष होम चुडाल भने अध्यक्ष र उपाध्यक्ष दुवैका कारण हलो अड्काएर गोरू चुट्ने काम भइरहेकाले आ—आफ्ना कमजोरी सच्याएर अविलम्ब परिषद बैठक सम्पन्न गर्नु पर्ने जनाउँछन् । नागरिकका काम रोकेर रमिता देखाइनु विडम्बना हुने भन्दै वडाध्यक्ष चुडालले आफू जनताका समस्या हल गर्न वडाबाटै काम थाल्ने बताउँछन् ।

यस्तै वडानम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटा अध्यक्ष आफैँले बोलाएको बैठक प्रकृयागत रूपमा सुरू नै नगरी कोरम नपुगेको बाहना बनाएर स्थगन गर्नु बहुमतको अपमान भएको तर्क गर्छन् । वडाध्यक्ष सापकोटाले अध्यक्ष पदीय हैसियत र गरिमा जोगाउन असफल हुँदा नागरिकले हैरानी खप्नु परेको आरोप समेत लगाउँछन् ।

विभिन्न नमुना योजना ल्याएर गत वर्षसम्म चर्चामा आएको झापाको हल्दिवारी गाउँपालिका यो वर्ष विवादले चर्चामा आएको छ । आर्थिक वर्ष०७७।७८ को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने विषयमा अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीको समूहबिच विवाद बढेर गएपछि गाउँपालिका चर्चामा आएको हो । विवादका कारण चालु आर्थिक वर्षको कामकाज ठप्प भएको छ ।

असार १० गते डाकिएको सातौं गाउँसभाका क्रममा दुवै पक्षको अहमताका कारण विवाद भएको थियो । अझै दुवै पक्षको अडान र अहमता कायम रहेकाले लिङदेनले साउन २६ गते दिनको १ बजेका लागि बोलाएको गाउँसभाको दोस्रो बैठक पनि विना निस्कर्ष स्थकित भएको छ । विवाद देखिएको पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक स्थकित भएको हो ।