नेपालमा आज थपिए ३३८ कोरोना संक्रमित
काठमाडौँ । नेपालमा आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार ७३८ जना रहेका छन् । हाल अहिले क्वारेन्टाइनमा १० हजार ७५९ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर परीक्षण गरिएको छ नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४० जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमित मध्ये ७०।७ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट थप चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा चार सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ । प्रवक्ता गौतमका अनुसार धनकुटा, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो ।