सभापति बन्ने दाउमा कांग्रेसका दश नेता
सन्तोष अधिकारी
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ । यद्यपी कांग्रेस पदाधिकारी नेताहरु फागुनमा महाधिवेशन गर्न नसक्ने निचोडमा छन् । त्यहीकारण महाधिवेशन वैशाख या जेठमा सार्नुपर्ने तर्क उनीहरुले गर्न थालिसकेको छन् । तोकेको मितिमा महाधिवेशन नहुने पक्का जस्तै भए पनि नेताहरु नेतृत्व सम्हाल्न सक्षम रहेको भन्दै गुटलाई सक्रिय बनाउन तल्लीन छन् ।
१४ औँ महाधिवेशनमा सभापति बन्न १० नेताले कसरत गरिरहेका छन् । साङ्गठानिक संरचना समायोजन, सदस्यता नवीकरण तथा वितरणको काम तोकिएकै समयमा नसकिने तर्क भइरहेको छ । तर असारको केन्द्रीय कार्यसमितिको बैठकले फागुनमै महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसमा महाधिवेशनको सरगर्र्मी बढेको हो ।
सभापति शेरबहादुर देउवा फेरि पनि सभापति हुने दाउमा छन् । त्यसैको तयारीका साथ उनी अहिले विभिन्न विभागमा नियुक्ति, समितिमा नियुक्ति र नयाँ पार्र्टीका केही प्रभावशाली भित्र््रयाउने कसरतमा छन् । देउवा ४० अरु ६० संख्याको हिसाबले देउवा भन्दा इतर समूह बलियो छ । तर, संख्याले मात्रै भएन्, देउवा बाहेक अन्यत्र विवाद बढी छ । १३ औँ महाधिवेशनमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले यही ६० प्रतिशतमध्येमा पर्ने केही नेतालाई व्यवस्थापन गर्न नसक्दा चुनाव हारेका थिए । देउवाले पौडेल पक्षका अर्जुननरसिंह केसीलाई लगेर महामन्त्रीको उम्मेदवार बनाए । तर, केसीले चुनाव हारे । अहिले उनै केसी पौडेल समूहमा फर्किसकेका छन् । १३ औँ महाधिवेशनमा देउवासँग पराजित भएका पौडेल र कृष्ण प्रसाद सिटौला पनि यसपटक पुन सभापतिकै उम्मेदवार बन्ने तयारीमा छन् । उमेरका हिसाबले ७० हाराहारी पुगेका र कटेका शिर्ष नेताहरु यसपटक नेतृत्व लिने र विदा हुने मनस्थितिका साथ अघि बढेका छन् । कुनै समय सभापति देउवाबाट नेवि संघको उत्तराधिकारी लिएका उपसभापति विमलेन्द्र निधि पनि यस पटक सभापतिको तयारीमा छन् । सरकारले जारी गरेको नेपालको नयाँ नक्सा र नागरिकता विधेयकको विषयमा उनै निधि र सभापति देउवाबीच पार्र्र्टी कार्यालयमा चर्काचर्की भएको थियो । त्यही बेलादेखि देउवाले निधिलाई पहिले जसरी साथ दिएका छैनन् । अहिले निधि पार्र्टीमा आफ्नै गुट स्थापित बनाउन कसरत गरिरहेका छन् । उनले देउवा पक्षका नेतासँगै पौडेल र सिटौला पक्षका केही प्रभावशाली नेताहरुसँग भेटघाट बढाइरहेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन अघिल्लो महाधिवेशन भन्दा चर्को प्रतिस्पर्धा र गुट र उप गुट सक्रिय हुने महाधिवेशन भनेर नेताहरुले नै भन्दै आएका छन् । नेताहरुले भने जसरी नै अहिले भावी सभापति बन्न नेताहरुले गुट भेला, फरक गुटको नेतासँग भेटघाट, जिल्ला सभापतिहरूसँगको नियमित फोन सम्पर्क बढाइरहेका छन् । दश जना आकांक्षी भएपनि सभापति बन्ने त एकै जना हो । त्यसैले कुन नेताले कस्तो रणनीति अपनाउलान् भन्ने सबैको चासोकोे विषय बनेका छ ।
कांग्रेस सभापति देउवा कुनै पनि हालतमा फेरि एक पटक सभापति र प्रधानमन्त्री बन्ने रणनीतिका साथ अघि बढेको देखिन्छ । ‘आगामी निर्वाचनमा नेकपाले पहिले जसरी मत ल्याउँदैन । मत ल्याउने गरी एउटै काम गरेको छैन,’ देउवाको सचिवालयले भन्यो, ‘त्यसैले एक कार्यकाल सभापति बन्ने र सरकारको नेतृत्व लिने उहाँको रणनीति छ । त्यही रणनीतिअनुसार अघि बढिरहनु भएको छ ।’ पछिल्लो समय पार्र्टी उपसभापति विमलेन्द्र निधिसँग सम्बन्ध बिग्रिएसँगै देउवाले फरक पार्र्टीबाट आएकालाई च्याप्न थालेका छन् । उनले अहिले लोकतान्त्रिक फोरमबाट आएका विजय गच्छदार र राप्रपाबाट आएका सुनिल बहादुर थापालाई नजिक बनाएका छन् । आफैँ सभापति बन्ने तयारी गरेका निधि र सिटौलाको विकल्पमा देउवाले गच्छदार र थापालाई लिएका छन् । कांग्रेसमा निधि र गच्छदार दुवै मधेसका प्रभावशाली नेता हुन् । देउवाले जिल्लाका क्षेत्रीय अधिवेशनबाट चुनिने ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ धमाधम विभाग गठन गरिरहेका छन् । विभिन्न नियुक्तिहरू गरिरहेका छन् । अहिले देउवाले नियुक्त गरेका नेताहरू पुनः महाधिवेशन प्रतिनिधि भएर आउने सम्भावना भएकाहरु मात्रै छन् । त्यस्तै देउवाले फागुन १९ गते ३० र केही दिनअघि मात्रै ४ सय ७९ पुराना नेता,कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याए । यो पनि देउवाको महाधिवेशन केन्द्रीत तयारी नै देखिन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पुन सभापति बन्ने आकांक्षाका साथ तयारी गरिरहेका छन् । यसपाली पौडेललाई अघिल्लो महाधिवेशनको जस्तो उम्मेदवार बन्न पनि त्यति सहज भने छैन । उनको समूहमै रहेका आधादर्जन नेताहरु आफैं सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन् । पौडेलले १४ औँ महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय अनामनगरमा खोलिसकेका छन् । उनले नेता कार्यकर्तासँग भेटघाट पनि बाक्लो बनाएका छन् । त्यस्तै पौडेलको निवास बोहोराटार हाइटमा पनि नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ । पौडेल देउवाले पछिल्लो समय गरेको प्राय सबै खालका निर्णयको विरोध पनि गर्दै आइरहेका छन् । उनले शशांक, शेखर कोइराला र प्रकाशमान सिंहलाई केन्द्रीत गरेर पारिवारिक विरासतबाट आएका नेताहरु हैन, धुलोबाट आएको नेतालाई छोड्न तयार रहेको पनि बताएका छन् । ‘युवा नेता छोड् छोड् भन्छन् । म प्रतिक्षामा छु । माटो, धुलोबाट उठेको नेता आओस् छोड्न तयार छु ।’
पूर्व महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला पनि १३ औँ महाधिवेशनमा देउवाले हराएका अर्का नेता हुन् । १३ औँ महाधिवेशनबाट कांग्रेसमा तेस्रो धारको नेतृत्व गरेका सिटौला यसपटक पनि स्वभाविक रुपमा आफू सभापतिको उम्मेदवार रहेको बताएका छन् । उनले भने, ‘म सभापतिको उम्मेदवार नहुने कुनै कारण छैन ।’ त्यस्तै उनले केही महिनाअघि गृह जिल्लामा भएको एक कार्यक्रममा १४ औँ महाधिवेशनमा आफू पुनः सभापति लड्ने घोषणा गरेका थिए । सिटौलाले महाराजगन्जमा महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय पनि खोलिसकेका छन् ।
सभापतिको अर्का आकांक्षी हुन्, पार्र्टी उपसभापति विमलेन्द्र निधि । देउवाको उत्तराधिकारीको कांग्रेसमा उदाएका नेता निधि यसपाली देउवासँग ठाकठुक परेसँगै आफ्नै गुट स्थापित गर्न लागिपरेका छन् । तर, अर्को महत्वपूर्ण कुरा के भने देउवाकै समूहबाट उपसभापति निर्वाचित निधिलाई त्यति सजिलो भने छैन । उनले महाधिवेशनकै लागि संस्थापन पक्षकै केही नेता र संस्थापन इतरका नेताहरुसँग भेटघाट बढाइरहेका छन् । उनले पौडेल पक्षका एक शीर्ष नेतासँग महाधिवेशन केन्द्रित छलफल गर्दैछन् । त्यस्तै निधिले यसअघि पार्र्टी महामन्त्री शशांक कोइरालालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । शशांक कोइराला १३ औँ महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री निर्वाचित भएका र १४ औँ महाधिवेशनमा आफैं सभापतिको उमेदवार बन्ने तयारीमा रहेका अर्का नेता हुन् शशांक कोइराला । उनले अहिले पौडेल समूहमा आफ्नो छुट्टै उप गुट तयार पारिरहेका छन् कांग्रेसका संस्थापन बीपीका छोरा शशांकलाई कार्यकर्तासँग नजिक नभएको आरोप भने लाग्दै आइरहेको छ । त्यसो त अहिले देउवा निवासमा शशांकनिकट मानिएका दीपक गिरी महाधिवेशन केन्द्रीत छलफलका लागि पुग्ने गरेको पनि बताइएको छ । शशांकले पार्र्टीको गुट अन्त्य गर्न आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् । उनले महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय आफ्नै निवास महाराजगञ्ज नजिकै खोलिसकेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने आकांक्षाकासाथ तयारी गरिरहेका अर्का नेता हुन प्रकाशमान सिंह । कांग्रेसको पूर्व महामन्त्री समेत रहेका सिंहले आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् । पौडेल समूहकै नेता सिंहले पनि महामन्त्री शशांकले झैँ गुटभित्र पनि उप गुट तयार पारिसकेका छन् सिंहले आफ्नै निवास चाक्सीबारी ठमेलमा नियमित नेता कार्यकर्तालाई भेटघाट गरी महाधिवेशनको तयारी गरिरहेका छन् । त्यस्तै उनले विजुली बजारमा सम्पर्क कार्यालय पनि खोलेका छन् । कांग्रेसका सन्त नेता गणेशमान सिंहका छोरा रहेका प्रकाशमानले पनि गुट उपगुटको अवस्था अन्त्य गर्न आफू नै सभापति बन्नुपर्ने बताउँदै आएका छन् । सिंह गत पुस माघमा देश दौडाहामा निस्केका थिए । जिल्ला पुग्दा उनले जिल्ला पार्र्टी कार्यालय तथा जिल्लामा रहेर केन्द्रसम्म प्रभाव राख्ने केही नेताहरुलाई पनि भेटेका थिए । सिंहले अहिले पौडेल पक्षका र देउवा पक्षका नेतासँग पनि नियमित छलफल गरिरहेका छ ।
कांग्रेसका केन्द्रीय नेतामध्ये सबैभन्दा धेरै जिल्लामा पुग्ने नेता हुन शेखर कोइराला । कोइराला परिवारको प्रभाव बोकेका नेता शेखर पनि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । प्रायः सबै जिल्ला पुगेर स्थानीय नेताहरुसँग राय लिई काठमाडौं फर्केपछि उनले आफू पनि सभापतिको उम्मेदवार रहेको बताएका थिए । पौडेल समूहका नेता शेखर पनि उपगुट बनाउ सक्रिय छन् । उनले कोरोना संक्रमणकै जोखिमबीच पनि आधा दर्जन जिल्ला पुगेर नेता कार्यकर्तालाई भेटिसकेका छन् । उनले जिल्ला तथा केन्द्रका नेतासँगको भेटलाई अहिले झन् बाक्लो बनाएका छन् ।
पौडेल समूहकै अर्का नेता अर्जुन नरसिंह केसी पनि सभापतिको उम्मेदवार आफू नहुनुका लागि कुनै कारण भएको बताउँदै आएका छन् । उनी कांग्रेसको केन्द्रीय कार्यसमितिमा आफू भन्दा सिनियर नेता कोही नभएको बताउँदै आएका छन् । तर, उनी देउवाविरुद्ध एक जनामात्रै सभापतिको उमेदवार हुनुपर्छ भनेर पौडेल समूहमा निरन्तर छलफल गरिरहेका नेता हुन् । १३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार भएका उनी पराजित भएसँगै पौडेल समूहमा फर्केका थिए ।
यता कांग्रेसका अर्का नेता डा. रामशरण महत पनि आफू सभापतिको उम्मेदवार बन्न सक्षम रहेको र उम्मेदवारी दिइने बताउँदै आएका छन् । तर, महतले पौडेल समूहबाट सभापतिको उम्मेदवारी दिन सहज छैन । कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापा पनि १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनको पहिलो रोजाई महामन्त्री भए पनि साउन १० गते भएको कांग्रेस युवा नेताहरुको भेलामा उनले युवा नेताहरुले साथ दिए आफू सभापतिको उमेदवार बन्न तयार रहेको बताएका थिए । थापा १३ औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री लडेर हारेका थिए । सिटौला समूहबाटै उमेदवार बनेर चुनाव जित्न थापालाई त्यति सहज छैन । त्यसो त उनले देउवा र पौडेल समूहमा ठाउँ पाउन पनि सजिलो छैन ।