गौरीगञ्ज गाउँपालिका ४ दिनका लागि पूर्णरूपमा लकडाउन
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले ४ दिनका लागि गौरीगञ्ज क्षेत्र पुर्णरूपमा लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय कोरोना आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले साउन ३०, ३१, ३२ र भाद्र १ गते अर्को सूचना नआउनञ्जेलसम्मका लागि पुर्णरूपमा गौरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समयमा स्थानीयतहहरूमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिईरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो चरणमा ४ दिन लकडाउन गर्नुका साथै गाउँपालिका भित्रका सम्पूर्ण हटिया बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिका अन्तर्गत सबै प्रकारका पसलहरू अर्को र्निर्णय नभएसम्मका लागि भोलीदेखि (सोमवार) विहान ७ बजे देखि ११ बजेसम्म मात्र खोल्ने, तरकारी बजारहरू भने सम्बन्धित वडा कार्यालयहरूले तोकी प्रत्येक आईतवार, मंगलवार र विहिवार अर्थात हप्ताको ३ दिन मात्र विहान ७ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराएका छन् ।
समुदायस्तरमा कोरोनाको प्रकोप फैलिनसक्ने जोखिम रहेको भन्दै बैठकले मोरङ्ग जिल्लासंग जोडिएको गौरीगंज गाउँपालिकाको सिमाना एक हप्ताका लागि शिल गर्ने र झापा जिल्लाका स्थानीय तहहरूबाट हुने अनावश्यक आवगनलाई समेत निरूत्साहित गर्ने निर्णय गरेको उपाध्यक्ष थापाले बताएका छन् ।
भारतीय सीमासंग जोडिएका कतिपय स्थानमा सुरक्षा सम्वेदनशिलतासंगै कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायसंग समन्वय गरी सहयोग गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा आपतकालिन कार्य सञ्चालन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।