चउनी सिमसार तथा कछुवा संरक्षणको बजेट फिर्ता

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोवारीमा प्राकृतिकरूपमा रहेको चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि विनियोजित रकमको आधा भन्दा बढी रकम फिर्ता भएको छ । आर्थिक बर्ष ०७६ र ७७ मा प्रदेश सरकारले चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि २० लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । तर सिमसार क्षेत्रका लागि समयमै वजेट विनियोजन भए पनि ढिलो गरि वजेट प्रवाह , कार्यान्वय पक्ष फितलो र आर्थिक वर्षको अन्तिम समयमा योजना सञ्चालन भएको कारण विनियोजित बजेटको आधा भन्दा बढी रकम खर्च नभई फिर्ता भएको हो ।

सिमसार उपभोक्ता समितिका अध्यक्ष मिनप्रसाद खतिवडाका अनुसार २० लाख रूपैयाँ मध्ये ९ लाख ६० हजार रुपैयाँ मात्र खर्च भएको जानकारी गराएका छन् । उनका अनुसार ९ लाख ६० हजार रूपैयामा सिमसार पोखरीको वरिपरि १०३५ फिट बराबरको ट्रयाक खोलिएको, ५ लाख मूल्य बराबरको ८ फिट लम्बाई भएको फाईवरको कछुवाको मुर्ति खरिद गरेको, ६×१० साइजको पोखरीको तस्वीर सहित होर्डिङ्ग बोर्डलगायतमा खर्च भएको छ । उपभोक्ता समितिका अध्यक्ष खतिवडाको भनाईलाई मान्ने हो भने १० लाख ४० हजार रुपैयाँ फ्रिज भएको देखिन्छ । सुरक्षा र संरक्षणको लागि बाहिर पट्टि भागमा ट्रससहितको तारजालिले घेरावेरा गर्ने योजना रहे पनि बर्षातका कारण सहज नभएकोले उत्त कार्य गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष खतिवडाले बताए ।

झापा जिल्लाको दक्षिण पश्चिममा पर्ने गौरीगंज गाउँपालिका वार्ड न. २, टटुवामारी (साबिक कोरोबारीको वार्ड नं.५) मा अवस्थित एक प्राकृतिक सिमसार चउनी पोखरी हो । वि.सं. २०२१ सालको नापीमा यसलाई जगुदह भनी छुट्याएको भए तापनि यहाँका आदिवासी राजबंशी जातिले यसलाई परम्परादेखि आफ्नै भाषामा चलिआएको नाम चउनीलाई नै प्रयोग गर्दै आइरहेको छ । यो चउनी पोखरी एक प्राकृतिक पोखरी भएकोले परापूर्व कालदेखि यस क्षेत्रको लागि पानीको मुख्य स्रोत बनेको छ । यस पोखरीको पश्चिमपट्टि धेरै पुरानो राजवंशी गाउँ टटुवमारी पर्छ । दुबैतर्फ ठूला गाउँ भएको हुनाले खेती गर्नेको चाप बढेर यसको मौलिक क्षेत्रफलमा अतिक्रमित भइ सागुरिदै गएको छ । यसरी पोखरी मिचिदै जाँदा अहिले (नापी विभागको फायल नक्सा अनुसार , साबिकको कोरोबारी ५ (क) कि.नं. १७२ अनुसार) करीब ४ बिघा (२.५ हेक्टर) जति मात्र बाँकी रहेको छ । यो पोखरीको आकार उत्तर–दक्षिण लाम्चो र पूर्व–पश्चिम चौडा छ । लम्बाई करीब ३६० मि. छ भने चौडाइ एक समान नभएकाले औसत नापी ७० मि. जति पर्दछ ।

डा. केआर खम्बुका अनुसार करीब ५ दशक अघिसम्म यो पोखरी जैविक विविधताले भरिपूर्ण एक सीमसार पारिस्थितिक प्रणाली थियो । यसको आसपासमा ५० सौं प्रजातिका स्तनधारी, २०० भन्दा ज्यादा प्रजातिका चराचुरुंगी, १०० भन्दा धेरै प्रजातिका सरीसृपहरु, ३० भन्दा बढी उभयचरहरु तथा ६० भन्दा बढी माछाका प्रजातिहरु पाइन्थे । डा. खम्बुले आफ्नो फेसबुक स्टाटसमा लेखे अनुसार त्यसबेला यस पोखरीको पूर्बतर्फ साल सतिसाल, साज, हर्रो, बर्रो, खमारी, जामुन आदि मिश्रित घना जंगल थियो । यस पोखरीको पानी अहिलेको भन्दा पचासौ गुणा धेरै थियो तथा यसलाई वारपार गर्न डुंगाको प्रयोग गरिन्थ्यो । यस पोखरीले यस क्षेत्रको पर्यावरणलाई सुद्ध र सन्तुलित राख्दै मौसम ओशिलो बनाएको थियो । पोखरी र वनजंगलको कारणले गर्दा सधै मनसुनी वर्षा राम्रो हुने गरेकोले यस क्षेत्रको माटो सिचाई भइ धान खेती पर्याप्त हुन्थ्यो ।

विश्व सङ्कटग्रस्त संरक्षण सूचीमा परेका पंक्षीहरुमध्ये राजगरुड र भँुडीफोर गरुड साथै सरीसृपका केही कछुवाका लोपवान् प्रजातिहरु(जस्तै इन्डोटेस्टुडो इलोङगेटा, नेल्सोनिया ह्यूरुम, लिसेमिज पङ्टाटम् आदि) अहिले देखा पर्दैनन् । तर यो पोखरी भने सुक्ने अवस्थामा पुगिसकेको छ । यसर्थ यस पोखरीको सिमसार क्षेत्रलाई तत्काल संरक्षण गर्न अति जरुरी देखिन्छ ।