सिटौलाको समर्थनले देउवालाई राहत
काठमाडौं । नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष नियुक्ति तथा मनोनयनमा केन्द्रित छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न कस्सिएको छ ।
पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड, पार्टीको स्थानीय तहको समायोजन र विदेशस्थित जनसम्पर्क समितिका विषयलाई महाधिवेशनको मुद्दा बनाएको छ । सभापति देउवाले महाधिवेशन घोषणापछि केन्द्रीय विभाग र निकायहरूमा मनोनयन तीव्र पारेपछि पौडेल पक्षले त्यस्ता गतिविधिलाई महाधिवेशसम्म मुद्दा बनाए जाने उद्घोष गरिसकेको छ । तर, सभापति देउवाले पौडेल पक्षको विरोधका बीच मनोनयनलाई जारी राखेका छन् । देउवाको वैधानिक कार्यकाल समाप्त भई थपिएको एक वर्षको कार्यकाल पनि पाँच महिना पुगिसकेको भन्दै पौडेल पक्षले काम चलाउ हैसियतमा रहेका सभापतिले विभाग गठन गर्ने र पूर्णता दिने काम गर्न नसक्ने जनाएको छ । पार्टीको विधानअनुसार केन्द्रीय विभाग र पार्टीका संरचनाहरू ६ महिनाभित्र नै गठन गरिसक्नुपर्ने व्यवस्था छ ।
पार्टी केन्द्रीय कार्यसमितिमा सुविधाजनक बहुमत देउवा पक्षको छ । यता मनोनयनको विषयमा नेता कृष्णप्रसाद सिटौलाको मौन समर्थन देखिन्छ । नेता सिटौलाले पनि यस विषयमा आफ्नो समर्थन र विरोध नरहेको बताएका छन् । विभाग गठन र विस्तारमा सिटौलाले मौन समर्थन जनाएपछि पौडेल पक्षको सार्वजनीक प्रतिवादको देउवाले बेवास्ता गरिदिएको पाइन्छ । साउन १ गतेको आन्तरिक छलफलपछि पौडेल पक्षले पछिल्ला निर्णयको खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी दिनुका साथै देउवालाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । तर देउवाले पौडेल पक्षलाई टेरपुच्छर लगाएनन् ।