भद्रपुरमा संचालित विद्यालय अनिश्‍चित बन्द

भद्रपुर । संघीय सरकारको निर्णय विपरित भद्रपुर नगरपालिकाका क्षेत्रमा विद्यालय सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बन्द गराएको छ ।

सरकारले सबै क्षेत्र खुल्ला गरेपछि शिक्षा क्षेत्रका विषयमा निर्णय लिने बताइ रहेका बेला भद्रपुर नगर शिक्षा समितिको साउन ८ गतेको बैठकले विद्यालय सञ्चालन गर्न दिएपछि सञ्चालनमा आएका विद्यालयहरू शुक्रवारबाट बन्द गराइएको हो ।

भद्रपुर नगरपालिकाका क्षेत्र भित्रका अधिकाम्स संस्थागत तथा केही सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाइ शुरु गरेका थिए । साउन ८ गतेयता विद्यालय आउन थालेका विद्यार्थीहरूले साउन १६ गतेबाट सरकारको निर्णय नआएसम्म विद्यालय आउन नपाउने भएका छन् ।

भद्रपुर क्षेत्रमा विद्यालय खुल्ला रहेको हल्ला चलेपछि नेपाल विद्यार्थी संघ झापाले केही संस्थागत विद्यालयहरूको स्थलगत अनुगमन गरी तत्काल विद्यालय बन्द गराउन माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानासित माग राखेको थियो । नेविसंघ झापाको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला, र जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जयबहादुर महतलाई भेटेर विद्यालय सञ्चालन भइरहेकोबारे जानकारी गराएपछि भद्रपुर नगर शिक्षा समितिमाथि प्रश्न उठाइएको थियो । नेविसंघको टोलीसँग कुरा गर्दै प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिएका थिए ।

यता भद्रपुर नगर शिक्षा समितिले भने भद्रपुर नगर क्षेत्रमा विद्यालय सञ्चालन गर्न कुनै निर्णय नगरेको भन्दै आफ्नो बचाउ गरेपछि प्याब्सन भद्रपुरको टोली जिल्ला प्रशासन कार्यालय झापा पुगेको थियो ।

विद्यालय सञ्चालकहरूसित कार्यकक्षमै प्रजिअ रानाले अविलम्ब विद्यालय बन्द नगरे सञ्चालकहरूलाई कानुनी कारवाही गर्ने बताएपछि आइतवारदेखि विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भद्रपुर नगर शिक्षा समितिले साउन ८ गते राखेको सर्व पक्षीय बैठकमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताउँछन् । उनका अनुसार नगर शिक्षा समितिबाट तय भएको स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन पश्चात विद्यालय सञ्चालनमा ल्याइएको हो ।

यसैबीच भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख प्रेमबहादुर भुजेलले भने नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको प्रस्ट पारेका छन् । प्रमुख भुजेलका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर अभिभावकसित सहमती गरी विद्यालय सञ्चालन गर्न नगर शिक्षा कार्यालय लचिलो भएको भए पनि औपचारिक निर्णय गरेर विद्यालय सञ्चालन गर्न दिइएको छैन ।