प्रचण्ड र नेपाल पक्षका १५२ नेताले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टीमा बुझाए हस्ताक्षर
काठमाण्डौंं । विवादका कारण स्थायी कमिटी बैठक बिथोलिएका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका डेढ सय केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् । केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन् । पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
अहिले विवादको समाधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनु पर्ने उनीहरूको भनाइ छ । ‘अहिले नेकपा जुन मोडबाट गुज्रिरहेको छ, त्यसको निर्णय ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले झन् सुझबुझका साथ गर्न सक्छ,’ हस्ताक्षर अभियान चलाउनेमध्येका एक केन्द्रीय सदस्य ठाकुर गैरेले भने,‘केन्द्रीय समितिले नै पार्टी एकताका पक्षमा दबाब दिन सक्छ भन्ने लागेर हामीले हस्ताक्षर थालेका हौं । ’ नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्छ ।