सुनिल थापालाई सहमहामन्त्री दिएकोमा पौडेल पक्ष रूष्ट
प्रशन्न पोखरेल
काठमाडौं । नेपाली कांग्रेसभित्र गुटगत झगडा फेरि सतहमा आएको छ । सभापति शेरबहादुर देउवाले आफूखुसी पद बाँडेर महाधिवेशन प्रभावित पार्न खोजेको निष्कर्ष असन्तुष्ट नेताको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले सभापतिले क्रियाशील सदस्यता वितरणदेखि विभाग गठनसम्म हस्तक्षेप गरेको निष्कर्ष निकालेका हुन् । ‘महाधिवेशन निष्पक्ष हुने कुरामा बैठकले शंका व्यक्त ग¥यो,’ बैठकमा सहभागी नेता चन्द्र भण्डारीले सेतोपाटीसँग भने, ‘सक्रिय सदस्यतादेखि विभाग गठनसम्म निष्पक्ष बनाउन सभापतिजीसँग कुराकानी गर्ने निर्णय भएको छ ।’ महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापति देउवाले निर्वाचन आचारसंहिताविपरीत विभाग गठन गरेकोमा पौडेल पक्ष असन्तुष्ट छ ।
‘सभापतिजीसँग समग्र विषयमा कुराकानी गर्न वरिष्ठ नेतालाई जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘छिट्टै सभापतिसँग भेटेर उहाँहरूले कुराकानी गर्नुहुन्छ । लिखित पत्र पनि दिनुहुन्छ ।’ पार्टीभित्रका हरेक गतिविधि विधानसम्मत हुनुपर्ने पनि पौडेल पक्षका नेताहरूको भनाइ छ । बैठकमा नेताहरूले हालै अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही र मंगलबार सुनिल थापालगायत कांग्रेस प्रवेश गरेकोमा पनि छलफल गरेका थिए । ‘अरू पार्टीबाट हाम्रो पार्टीमा नेताहरू आउनु स्वागतयोग्य हो,’ उनले भने, ‘तर कसलाई कुन पद दिने भन्ने केन्द्रीय समितिबाट निर्णय गरेर दिनुपर्छ । सभापति देउवाले मंगलबार पार्टी प्रवेश कार्यक्रममै थापालाई सहमहामन्त्री पद दिएको घोषणा गरेपछि पौडेल पक्ष असन्तुष्ट छ । महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन छ महिना बाँकी छँदा गरेर देउवाले आफ्नो पक्षमा माहौल सिर्जना गर्न खोजेको भन्दै पौडेल पक्षका नेता असन्तुष्ट रहेका हुन् । ‘महाधिवेशन प्रभावित हुने गरी मनोनित गर्न मिल्दैन। छ महिनाभित्र गठन गर्ने विभाग अहिले गठन गर्न हुन्न,’ उनले भने, ‘यसबारे सभापतिजीको समय लिएर नेताहरूले कुराकानी गर्नुहुन्छ ।’
कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा गर्ने तय भएको छ । अहिले अधिकांश जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम जारी छ । तल्ला तहमा पुस ६ देखि अधिवेशन हुनेछन् ।