तमु ह्युल छोज धीद्वारा क्यान्सर पीडितलाइ सहयोग
बिर्तामोड । तमु ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषद बिर्तामोड नगर इकाइ समितिले क्यान्सर पीडितका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार नगर परिषद्ले एक कार्यक्रमका बीच छ महिनादेखि उपचारार्थ क्यान्सर पीडितका लागि बालिकाका लागि ८९ हजार ९ सय नब्बे रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो । परिषद बिर्तामोड नगर इकाइ समितिको पहलमा तमुस्यो आमा समूह लगायतको सहयोग रहेको नगर अध्यक्ष सलबहादुर गुरूङले बताउनुभयो। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तमु ह्युल छोज धी गुरूङ रास्ट्रिय परिषद १ नं. प्रदेश उपाध्यक्ष आनन्द गुरुङ, बिर्तामोड नगर समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । ताप्लेजुङ फुङलिङ नपा–५ का सन्तोष गुरुङ र सोनिया गुरुङकी दुई वर्षीया छोरी मिक्साङ गुरुङलाई बोनम्यारो क्यान्सर भएका कारण आर्थिक संकलन अभियान सुरू गरिएको संयोजक दिलिप गुरूङले बताउनुभयो ।
हाल काठमाडौंको बाल कान्ति अस्पताल महाराजगन्जमा उपचार भइरहेको पीडितका बुबा सन्तोष बताउनुहुन्छ । उहाँका अनुसार छ महिना अघि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । डाक्टरको सल्लाह अनुसार वीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान धरान हुँदै काठमाडौंको बाल कान्ति अस्पताल लगिएको उहाँले बताउनुभयो । छोरीको उपचारमा डाक्टरले बोनम्यारो ट्रान्सप्लन्ट गर्ने पर्ने भएकोले उनको उपचारमा २५ देखि ३० लाख लाग्ने बताइएको छ। हाल १८ लाख सहयोग संकलन भइसकेको र बाँकी रकम अभावका कारण आर्थिक समस्या भएकाले सबैसँग सहयोगको अपिल गर्नुपरेको गुरुङ बताउनुहुनछ ।