फुटवलको विकासमा दत्तचित्त जलकुमार गुरुङ्ग

राजेन्द्र गौतम

बिर्तामोड । ‘अब फुटबल खेल्ने मात्र होइन पढ्ने हो,’ झापा फुटबल क्लब ११ का अध्यक्ष जलकुमार गुरुङले प्रस्ट्याए,’हिजो खेतबारीमा फुटबल खेलियो, अब त्यसरी हुँदैन, फुटबलको विकासका लागि नियमित अभ्यास गर्नुपर्छ, एकेडेमीमै बसेर सिक्नुपर्छ ।’ झापामा ५ करोड खर्चेर फुटबल प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) बनाउन जुटेका उनले नेपालमा फुटबल खेल्ने कला परम्परागत शैलीको रहेकाले त्यसमा परिवर्तन जरुरी भएको बताए । ‘अहिलेको जमाना मोर्डन फुटबलको हो,’ गुरुङले भने, ‘हाम्रो जस्तो खेलले केही हुँदैन, यसमा परिवर्तन गर्नैपर्छ, त्यही सोचेर एकेडेमीको अवधारणा अघि सारिएको हो ।’

प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न लामो समयदेखिको योजनाले सार्थकता पाउनेमा आफू विश्वस्त भएको उनले सुनाए । एकेडेमी सञ्चालनका लागि स्थान तय भइसकेको छ । इन्जिनियर र प्राविधिकले कामको तयारी गरिरहेका छन् । भौतिक पूर्वाधारको तयारीमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान सुनाएका अध्यक्ष गुरुङले त्यो ठूलो रकम नभएको र सहज रूपमा जुट्ने बताए । ‘झापा ११ का सदस्य नै धेरै हुनुहुन्छ,’ गुरुङले भने, ‘विदेशमा पनि झापा ११ को महत्व उत्तिकै छ ।’ एकेडेमी सञ्चालनका लागि प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्श पछि कसरी अघि जाने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको उनले जनाए । डोमालाल रजवंशी रंगशालाकै नजिक सञ्चालन हुने एकेडेमीका लागि चारवटा खेल मैदान, भवन, कार्यालय निर्माण त्यही आसपासमा नै गरिनेछ । आफ्नै खेलाडी उत्पादन गर्ने उद्देश्य एकेडेमीले राखेको छ । खेताला बोलाएको जस्तो गरेर खेलाडी ल्याउने र खेलाउने संस्कारले फुटबल विकास निरर्थक हुने उनको बुझाइ छ ।

एकेडेमीको मुख्य प्रशिक्षकमा युगलकिशोर राई र प्रवेश कटुवालले प्रशिक्षक भूमिका निर्वाह गरिरहेका छन् । चैतसम्म २५ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण थालिएको थियो । तर कोरोनाका कारण अहिले खेलाडी त्यहाँ छैनन् । सहज हुनेबित्तिकै ती खेलाडीलाई प्रशिक्षणमा राख्ने उनले बताए । लामो गृहकार्यपछि एकेडेमी सञ्चालन तयारीमा जुटेको बताउने उनी झापा ११ अनगोइङ प्रकृतिको क्लब भएको दाबी गर्छन् । झापा ११ ले अहिले डोमालाल रंगशालाको सरसफाइ सुरु गरेको छ । फुटबल खेलका लागि ५।१० वर्ष उमेर समूहमा बालबालिकालाई प्रशिक्षण दिने, आफ्नै टेक्निक र ट्याक्टिस प्रयोग गर्न सकेमात्रै प्रतियोगिता जिल्न सकिने उनले बताए । उनले भने, ‘झापा ११ को अवधारणा हायरिङ गरेको खेलाडीले खेल जितेर प्रगति हुँदैन भन्ने नै हो ।’ सरकार र एन्फालगायतका जिम्मेवार निकाय फुटबलको विकासमा दत्तचित्त नभएको बताउने गुरुङले आफ्नै बलबुतामा झापालाई ब्रान्ड बनाउने योजना सुनाए ।

आफ्नो ठाउँको फुटबल विकासका लागि आफैं लाग्नुपर्ने बताएका उनले झापा फुटबलको हब हुने दाबी गरे । उनले झापामात्रै होइन देशभर एकेडेमी खुले मात्रै फुटबलको विकास सम्भव हुने निष्कर्ष सुनाए । हेरौं हेरौं जस्तो खेल मैदान र विदेशी बालबच्चाको जस्तो फुटबलप्रतिको भावना विकास गराउन सकियो भने मात्रै प्रगति हुने सम्भावना देखेका उनले नेपाली फुटबल वादविवादमा अल्झेकै कारण अगाडि नबढेको मत राखे । भने, ‘फुटबल विकासका लागि मन पनि मिल्नुपर्छ ।’