दमक नगरपालिकामा अधिकांश लेनदनका मुद्दा
दमक । झापाको दमक नगरपालिकाको न्यायिक समितिमा अधिकांश आर्थिक लेनदनको मुद्दा सम्बन्धि किचलो आउने गरेको पाईएको छ । पछिल्लो एक बर्षमा दर्ता भएका कूल २ सय एक मुद्दा मध्ये झण्डै आधाका संख्यामा भने आर्थिक लेनदेनको हुने गरेको नगरपालिकाको न्यायिक समितिकी संयोजक तथा नगर उपप्रमुख गीता अधिकारीले वताईन् । ती मुद्दाहरु मध्ये आधाका हाराहारीमा फछ्यौट हुदै आएको उनले बताइन् । गत बर्षको साउन १ देखि असार मसान्त सम्ममा विभिन्न १४ प्रकृतिका २ सय १ मुद्दा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको नगरपालिकाका कानून अधिकृत माधव बस्नेतले जानकारी दिए ।
दर्ता भएका मुद्दा मध्ये ९५ वटा मुद्दाको छिनोफानो गरिएको छ । जसमध्ये न्यायिक समितिबाट मात्रै किनारा लाग्न नसकेका १९ वटा मुद्दाका सम्बन्धित व्यक्तिलाई अदालत जान सुझाइएको छ भने ९५ वटा मुद्दा न्यायिक समितिको छलफलकै क्रममा रहेका नगरपालिकाकी न्यायिक समिति संयोजक अधिकारीले बताईन् । न्यायिक समितिमा गएको एक बर्षमा आर्थिक लेनदेन सम्बन्धि ४८ मुद्दा दर्ता भएकोमा २१ वटाको निरुपण गरिएको, ४ वटा मुद्दाका सम्बन्धित पक्षलाई अदालत जान सुझाइएको र २३ वटा निरुपण गर्ने प्रकृयामा रहेको जनाइएको छ । लेनदेन पछि उस्तै उस्तै प्रकृतिको सम्पति रोक्का सम्बन्धिका ३९ मुद्दा दर्ता भएको र ती मध्ये १७ वटा मात्रै निरुपण गरिएका छन भने जग्गा सम्बन्धिका ३२ मुद्दा मध्ये ११ वटा निरुपण गरिएको न्यायिक समितिकी सदस्य मिना विश्वकर्माले वताईन् ।
आर्थिक लेनदेन पछि पारिवारिक झगडा सम्बन्धिका मुद्दा पनि उच्च संख्यामा उजुरी आउने गरेको समितिले जनाएको छ । गएको वर्ष २४ वटा त्यस प्रकृतिका मुद्दा मध्ये १३ वटा सुल्झाइएको र २ वटा मुद्दा अदालत पठाइएको न्यायिक समितिले निकालेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा पनि २ सय वटा मुद्दा परेका थिए । ति मध्ये २८ वटा विवाद निरुपण हुन सकेका थिएनन् ।
