लिम्बुवान, नेकपा, राप्रपा त्यागेर काङ्ग्रेसमा प्रवेश
विर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १० मा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेता तथा कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवसका अवसर पारेर आज एक कार्यक्रमका वीच उनीहरु काङ्ग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई काङ्ग्रेस झापाका सभापति उद्धब थापा , महासमिति सदस्य देउमान थेबे लगायत नेताले नवप्रवेशीहरुलाई साधारण सदस्यता बितरण गरेर पार्टी प्रबेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अधिकाङ्स राप्रपा , नेकपा , लिम्बुवानका नेता कार्यकर्ताहरु रहेका छन्। त्यस अवसरमा नवप्रवेशीहरुले आफुहरुले आस्था गरेको पार्टीले जनताको नेतृत्व गर्न नसकेकाले ती पार्टी परित्याग गरि निस्वार्थ रुपमा काङ्ग्रेसमा प्रवेश गरेको बताएका थिए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दे पार्टी जिल्ला सभापति थापाले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेकाले यस्तो नालायक सरकार पूरै असफल भएको आरोप लगाए । भ्रष्टचार द्वन्दहिनता जस्ता कार्यहरु यो सरकारको पालामा बढ्दै गएको उनले बताए ।उनले वीपी कोइरालाको पालादेखि नै काङ्ग्रेस समावेशी रहेको आदिबासी जनजातिको निम्ति आइएलओ १६९ समेत कांगे्रस सरकारको पालामा बनाएकाले कांग्रेसले मात्र आदिबासी जनजातिहरुलाई सम्मान गर्ने उनको जिकीर थियो । कार्यक्रममा बोल्दै नेता थेबेले काङ्ग्रेसको बिचार र सिद्धान्त लाई अङगालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान तथा अवसर हरुलाई समान रुपमा वितरण गर्ने ,नयाँ पुरानो नभनी भेदभाब नगरिने उनले बताए ।
पार्टीका वडा सभापति मदन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य जल कुमार गुरुङ, झापा क्षेत्र ३ प्रदेश (क ) सभापति नवीन बिमली , बिर्तामोड नगर सभापति भोजराज सिटौला , नेबिसंघका पूर्व केन्द्रिय सदस्य सन्तोष उप्रेती , वडा सदस्य दिपिका शिवा लगायतको उपस्थिति रहेको थियो । लोक बहादुर पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको महत्व माथि क्षेत्रीय सदस्य पहलमान श्रेष्ठले प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रमको सञ्चालन रुद्र प्रसाद खतिवडाले गरेका थिए ।