विद्युत महशुल घट्यो : यस्तो छ नयाँ महशुल दर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि भारी छुट सहितको नयाँ बिलिङ प्रणाली जारी गरेको छ । विद्युत नियमन आयोगले समायोजन गरे अनुसार नयाँ महसुल दर कायम गर्दै प्राधिकरणले साउनदेखि बिलिङ सिस्टम अपग्रेड गरेको हो ।
पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । नयाँ समायोजित दर अनुसार, अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले त्यसै अनुसार बिलिङ सिस्टम समायोजन गरिएको प्राधिकरणले जनाएको छ । नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन् । १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा भने प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्नेछ । १० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिरे पुग्नेछ । तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ । तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ ।
खपत अनुसार लाग्ने महसुल दरमा १५० युनिट खपत गर्दा १३ सय ४० रुपैयाँ महसुल लाग्छ । यसमध्ये डिमान्ड शुल्कबाहेकको १२४० रुपैयाँ महसुलमा २५ प्रतिशत छुट पाउने छ । त्यस्तै २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ । जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ । प्राधिकरणका अनुसार महसुल समायोजन गर्दा १५ प्रतिशतसम्म महसुल सस्तो भएको छ । साउन ५ गतेपछि आउने बिलिङमा नयाँ दरले बिलिङ हुने प्राधिकरणले जनाएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेको १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको दर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको छ । आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको हो ।