आगलागी पीडितलाई चुम्लुङको सहयोग

दमक । गएको फागुनमा आगलागीवाट विस्थापित भएका झापा, कमल गाँउपालिका वडा नम्बर ५ मंगलवारेका शेर वहादुर पन्दाकलाई लिम्बुहरुको जातिय संस्था किरात याक्थुङ चुम्लुङ कमलले आर्थिक सहयोग गरेको छ । चुम्लुङले सात वटै वडा समितिमार्फत संकलित रु ५१ हजार ५७५ रुपैया पीडित परिवारलाई प्रदान गरिएको चुम्लुङकी गाँउ कार्यसमितिकी कोषाध्यक्ष चन्द्रकला सुब्बाले वताईन् । पीडितको घरैमा पुगेर चुम्लुङका गाँउ कार्यसमितिका अध्यक्ष पूण्यप्रसाद सम्बाहाम्फेसहितको टोलीले नगद सहयोग हस्तान्तरण गरेको हो ।

विपतका बेला आफना परिवारका सदस्यलाई थोरै भएपनि पूर्नास्थापना गराउन उद्देश्यले सो सहयोग प्रदान गरिएको अध्यक्ष सम्बाहाम्फेले वताए । लकडाउनका कारण वेलैमा सहयोग पुरयाँउन समस्या आएको भन्दै उनले ढिलै भएपनि पीडितलाई कमल भरिका लिम्बुहरुवाट सहयोग जुटाएर घाउमा मलम लगाउने कार्य गरिएको वताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा चुम्लुङका गाँउ समितिका पदाधिकारीहरु, चुम्लुङका सात वटै वडाका अध्यक्ष तथा सदस्यहरु,सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

विद्युत सर्ट भई लागेको आगलागीवाट पन्दाकका काठको घरसहित सवै सरसमान पूर्ण रुपमा नष्ट भएको थियो । पीडितलाई त्यसवेला रेडक्रस,सहकारी ,क्लव, भजन किर्तन मण्डली तथा विभिन्न व्यक्तिहरुले आर्थिक तथा अन्य सहयोग उपलव्ध गराएका थिए । आगलागी पछि घरवारविहीन भएका पन्दाक परिवार अहिले सोहि जमीनमा टहरा बनाई वस्न बाँध्य भएका छन् ।