कोभिड परीक्षण प्रयोगशालाको अनुगमन

भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा स्थापना गरिन लागेको कोभिड १९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि निर्माण गरिएको कक्षको झापाका प्रदेश सांसदहरूले अनुगमन गरेका छन् ।

उनीहरूले पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा शनिवार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पिसिआर विधिबाट कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन झापा ल्याएका थिए ।

मेची अस्पतालमा साउन दोस्रो हप्ताबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरू हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेण्डेन्ट पिताम्वर ठाकुरले सांसदहरूलाई अस्पतालले गरिरहेको तयारी बारे जानकारी गराएका थिए । सो अवसरमा सांसदहरु बसन्त बानियाँ, झकसिंह दर्लामी, ओम सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले अनुगमन गरेका थिए ।

‘६ जना ल्यावको जनशक्ति तयारी अवस्थामा छन्’, मेडिकल सुपरिटेण्डेन्ट ठाकुरले भने, ‘भोलिदेखि कोशी अस्पतालमा जनशक्तिलाई हेर्न र आफू तयार हुन पठाउने व्यवस्था मिलाएका छौं ।’

झापा जिल्ला प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो । स्वीस सरकारले उपलब्ध गराएका मध्ये एउटा मेसिन झापा ल्याइएको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिए ।

अस्पताललाई प्राप्त मेसिनबाट एक पटकमा ९० वटा स्वावको परिक्षण गर्न सकिने बताइएको छ । प्रति घण्टा ९० जनाको स्वाव परीक्षण गर्ने उक्त मेसिनले समूहमा परिक्षण गर्ने हो भने एकै दिनमा झण्डै १० हजार स्वाबको परिक्षण गर्ने बताइएको छ ।