नेपालमा आज १०९ जना संक्रमित संख्या १८ हजार ४८३ पुग्यो, ४५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आज थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नयाँ संक्रमित हुनेहरुमा झापा १, खोटाङ १, सप्तरी ११, पर्सा ८, रौतहट ४, सर्लाही १, चितवन १, बारा ३, मकवानपुर १, नवलपरासीपूर्व ४, काठमाडौं २, ललितपुर १, अछाम १, गुल्मी ३, कपिलवस्तु ६, पाल्पा ४, बाँके २, बर्दिया २, दाङ ५, तनहुँ १, अछाम २, कालीकोट ३, दैलेख ३, हुम्ला १, जाजरकोट ६, मुगु २, सुर्खेत ११, डढेलधुरा ८, डोटी १३, बैतडी ३ जना रहेका छन् उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १८ हजार १८३ जना रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३४५ छ । नेपालमा बितेको २४ घण्टामा थप १ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ रहेको छ । नेपालमा ७०.७ प्रतिशत संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।