वर्षायाम शुरु भएयता झापामा १७ जनाले ज्यान गुमाए

भद्रपुर । वर्षायाम शुरु भएयता झापामा पहिरोमा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार डुबेर तीन जना बालकको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो । त्यस्तै बुधबार साँझ ५:३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । सोही दिन साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी थिइन् । निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।

यसैगरी मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो । टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ । भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ । त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो ।