नेपालमा आज थपिए १३३ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १ सय ३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३ सय ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४ सय ४४ जना रहेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १ सय ४६, प्रदेश २ मा १ हजार ९ सय १, बागमतीमा ४ सय ३९, गण्डकी प्रदेशमा ३ सय ३१, प्रदेश ५ मा ३ सय ५४, कर्णालीमा ३ सय १५ र सुदूरपश्चिम १ हजार ८ सय ९७ जना रहेका छन् । उनका अनुसार (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ । नेपालमा ७० दशमलव ४६ प्रतिशत संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा पर्सा ११ श्रीपुर रानीघाटकी ८५ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । ती महिलामा मुटु र निमोनियाको समस्या देखिएको उनले जानकारी दिए । रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।