बाढीले सयौं बिघा जमिन बगरमा परिणत

झापा । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए । तर, कनकाईमा आएको बाढीले जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १ सय ३ घरपरिवार पूर्णरुपमा विस्थापित भए भने सयौँं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताएकाछन् ।

हुलाकी राजमार्ग अन्तर्गत कनकाई नदीमा निर्माणाधीन पुलका कारण नदीलाई पूर्वतर्फ मोडेका कारण नदीले बाँध भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । कनकाई माईमा आएको बाढीले झण्डै तीन सय मिटर बाँध भत्काएर नदीको भङ्गालो बस्ती पस्दा झापा गाउँपालिकाका वडा नं १, २ र ७ का अधिकांश बस्ती डुबानमा छन् । डुबानमा परेका बस्तीका १ सय ५ परिवारलाई उद्धार गरी गाउँपालिकाका विभिन्न विद्यालयमा राखिएको गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन् । गत सोमबारदेखि डुबानमा परेका तीन वडाका बासिन्दालाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीयवासी हरिनारायण राजवंशीले बताउनुभयो । विस्थापितलाई तत्कालका लागि स्थानीय तह, विभिन्न संघ/ संस्था र दाताले खानेकुराको जोहो गरिदिए पनि खाने खेत बगरमा परिणत भएपछि सर्वसाधारणलाई चिन्तामाथि थप चिन्ता थपिएको छ ।