जनस्तरबाट निर्मित पिसिआर ल्याब सञ्चालन अनुमतिको पर्खाइमा
कोटीहोम । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कनकाई नगरपालिकास्थित कोटिहोमस्थित समर्पण भवनमा पिसिआर ल्याब सञ्चालनका लागि झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन हुने छ । पिसिआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि सरकारलाई हस्तान्तरण गर्ने पर्खाइमा छ ।
बिहीबार ल्याब रहेको भवनमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी, दिपेन बाला राई, राप्रपा झापाका सचिव केशवराज ओझा, कनकाईका नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेल लगायतले संघीय र प्रदेश सरकारसँग ल्याब सञ्चालनको अनुमतिका लागि जोडदार माग गरेका हुन् । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, झापाका निमित्त प्रहरी प्रमुख राकेश थापा, अनारमनीका प्रहरी प्रमुख मुकुन्द रिजाललगायत अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पिसिआर ल्याब साउन १० गतेभित्र सञ्चालनका लागि सरकार सकारात्मक बन्नुपर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् । ल्याब स्थापना हुने समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य सकिएको उनले जानकारी दिए । ल्याबका लागि आवश्यक पिसिआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । पिपिइलगायत थप किट प्रदेश सरकारले परीक्षण सुरु भएपछि व्यवस्थापन गर्ने बताइएको छ ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ । प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । अब झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट संकलित नमुना परीक्षणमा सहज हुनेछ ।