केन्द्रीय नेम्बाङ कल्याण समाजको आपत्ति

भद्रपुर । ज्योतिष शास्त्रमा विद्यावारिधि गरेका डाक्टर चन्द्रकुमार शेर्माले किरात लिम्बु जातिका नेम्बाङ,लिङदेन, योङहाङ लिम्बु नै नभएको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन् । काठमाडौंमा हालै एक कार्यक्रममा शेर्माले लिम्बु जातिको थर माथि नै अनर्गल धावा बोलेको भन्दै सम्बद्ध जातिय संस्थाले आपत्ति जनाएका छन् ।

नेम्बाङ कल्याण समाज केन्द्रीय समितिले डा. शेर्माले दिएको विवादस्पद अभिव्यक्तिले सिंगो लिम्बु समुदायहरुमाथि नै चोट पुगेको भन्दै आपत्ति जनाएको हो । समाजका कार्यवहाक अध्यक्ष नगेन्द्र प्रसाद नेम्बाङ र महासचिव विष्णु नेम्बाङले दुई दिन अघि संयुक्त रुपमा विज्ञप्ति निकालेर डा. शेर्माले दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिन आग्रह गरिएको उल्लेख छ । आफूलाई ज्योतिष तथा मुन्धुमविद भएको वताउने स्वघोषित डा.शेर्माले प्राप्त गरेको पगरीका बारेमा नै विवाद रहदैआएको छ । समाजले शेर्मा हिन्दुवादी भएको र त्यसैवाट नै उनी परिचालित समेत भई लिम्बु समुदाय माथि विभाजित गराउन उद्दत भएको आरोप लगाईएको छ । शेर्माले प्रमाणहिन कुरा गरेर इतिहासलाई नै चुनौती दिएकाले आगामी दिनमा यस्ता तर्कहीन कुरा गर्ने गद्दारहरुलाई इतिहासले गतिलो पाठ सिकाउने समाजद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

पाँचथर वलनेका शेर्मा किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व केन्द्रीय अध्यक्ष तथा त्तत्कालीन वलने गाविसका अध्यक्ष समेत हुन् । पछिल्ला एक दशकदेखि उनले काठमाडौंमा ज्योतिषशास्त्र सम्बन्धी काम गरिआएका छन् ।