नेपालमा आज १४७ जनामा संक्रमित थपिए
काठमाडौँ । नेपालमा आज थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन १४७ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ पुगेको छ। सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ५८ रहेको मन्त्रालयले जनाएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म १२ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ सय ५६ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ७० दशमलव ३९ प्रतिशत हो । मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् ।उनमा श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका ति पुरुषको साउन ७ गते मृत्यु भएको हो ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका छ जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।