कमलधापमा खनिएको खाल्डोका कारण सन्तानविहन बने थामी र तामाङ परिवार

भद्रपुर । भद्रपुर २ स्थित धार्मिक स्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नती हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक सशनु परेको छ ।

विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि स्थानीय शोकमा डुबेका हुन् ।

प्रहरी कार्यालयले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षका छोरा अंकुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १४ वर्षका करण र १२ वर्षका अर्जुन थामी रहेका छन् । घरमा कोही नभएका बेला दिउँसो ३ वजे तिर घर नजिकै रहेको निर्माणाधीन पोखरीमा माछा मार्न बल्छी लिएर हिँडेका तीनै जना आफैं पोखरीको दलदलमा भासिएर सधैंका लागि विदा भए ।

एक मात्र छोरा भएका अनिल तामाङका र दुई मात्र छोराकी आमा कमला थामी सन्तानविहिन बन्नु परेको छ । उनीहरूले मात्र होइन समग्र वडाबासीले पनि सोचेका थिएनन् कि त्यस पोखरीको दलदलले बालकहरू चुडेर लानेछ भन्ने तर, जिम्मेवार ठेकेदार, सवल नियामक नहुँदा हिउँदमा खनेर छोडेको खाल्डो वर्षादमा भरिदा बगेर पसेको माटो दलदल बनिएर भासिन पुग्दा कलिला बालकले ज्यान गुमाउनु परेको स्थानीय फागु सुब्बा बताउँछन् ।

सोही कारण विहिवार दिनभर भद्रपुर २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएको भन्दै स्थानीय आक्रोसित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनिएको हो । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ ।

बुधवार दिउँसो घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ ७.३० बजे मात्र बालक अङ्कुश तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए । प्रहरीको गोताखोर टोलीले बिहीबार बिहान मात्र थामी दाजु भाइको शव त्यही पोखरीमा भासिएको अवस्थामा फेला पारेको थियो ।

कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाएको, निर्माण कम्पनीको लापरबाही रहेको भन्दै स्थानीयले झापा प्रहरीमा मुद्धा दर्ता गर्न गएका भए पनि प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि ३ जना बालक मध्ये अंकुश तामाङको सव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ भने थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाएका छैनन् ।

यता भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ भने विकासका लागि गरिएको संरचना निर्माण स्थलमा अकल्पनीय घटना घटेकोमा दुःख लागेको बताउँछन् । प्रमुख श्रेष्ठले पीडित परिवारले राखेका माग सम्बोधन गरेर आजै मृतकको लास उठाउने जानकारी दिए ।