कमलधापमा खनिएको खाल्डोमा डुबेर ३ बालकले ज्यान गुमाए

भद्रपुर  । सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि भद्रपुर २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोसित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनिएको हो ।

तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ। । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यालयले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको झापा प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिएका छन् । मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तथा पौडी खेल्न तीनै जना बालक सँगै गएका थिए ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे मात्र बालक अङ्कुश तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।

खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आर.एन्ड.सी.  नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ सय ७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिस तामाङले आक्रोश पोखे। ‘भतिजसहित अन्य दुई जना बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरबाहीको कारण भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन, र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।’

तीन जना बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानुनी उपचारमा जान्छौँ ।’ सुब्बाका अनुसार ३ जना बालक मध्ये अंकुश तामाङको सव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ भने थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाएका छैनन् ।