भद्रपुर शिक्षा समितिको विभूतिमा अनुगमन

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमनको क्रममा विभूति विद्यामन्दिरको निरीक्षण गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार तयारी पूरा गरे नगरेको स्थलगत अनुगमका क्रममा भद्रपुर १० स्थित विभूति विद्या मन्दिरको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक पक्षबाट छलफल समेत गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले विद्यालय प्रवेश द्वारमा बनाइएको संक्रामक किटाणु नास गर्ने निशेचीकरण स्थल, हात धुने स्थान लगायत कक्षा सञ्चालन स्थल समेत रोग संक्रमण जोखिम मुक्त बनाइएको जानकारी दिँदै देखाएका थिए ।

प्राविधिक पक्षको नेतृत्व लिएका नगर स्वास्थ्य शाखा फोकल पर्सन मनोज भट्टराईले विद्यालयको तयारी मापदण्ड अनुसार भएको बताउँदै निशेचीकरणका लागि प्रयोग हुने रसायन बालबालिकाको स्वास्थ्य अनुकुलको मिश्रण बनाउन सुझाव समेत दिएका थिए ।

नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठले कोरोना संक्रमण त्रास जीवितै भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सजग भएर शिक्षण गर्दा बाल बालिकालाई जोगाउन सकिने प्रष्ट पार्दै तताएर पिउने पानी दिने प्रबन्ध गरेर विद्यालय सञ्चालन गर्न दिन सकिने स्पष्ट पारेका थिए ।