विधवा र अशक्त अपांगता व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता सरकारले कटौती गरेकै हो ?

भद्रपुर । साठी बर्ष कम उमेर भएका विधवा र अति अशक्त अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण नहुने भएको छ ।

साठी बर्ष कम उमेरका विधवा र अति अशक्त अपांगता भएका लाभग्राहीहरूको परिचयपत्र नविकरण नहुनेभएपछि उनीहरूले खाईपाई आएको सामाजिक सुरक्षा भत्ताको रकम कटौती हुने भएको हो ।

सुरक्षा नियमावली २०७६ को नियम ९ अनुसार सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नु पर्ने व्यवस्था भए बमोजिम सरकारले स्थानिय तहहरूलाई यहि आर्थिक वर्षको साउन महिना देखि ६० वर्ष कम उमेर भएका विधवा र अति अशक्त अपांगता भएका व्यक्तिहरूको नयाँ दर्ता र नविकरण कार्य अर्काे सुचना नआउञ्जेलसम्मका लागि स्थगित गर्न परिपत्र जारी गरेको छ । त्यसैगरी सरकारले कुनैरूपले नियमित पारिश्रमिक, निवृतिभरण, अवकाश सुविधा एवं अन्य सुविधा पाउने व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ताको रकम नपाउने भएका छन् । मिति २०७७ साल असार १७ गते मन्त्रीस्तरीय बैठकबाट त्यस प्रकारको लाभग्राहीले सरकारबाट दोहोरो सेवा सुविधा नपाउने निर्णय भएको हो । विदेशी सरकारबाट नियमित रूपले निवृत्तिभरण प्राप्त गरिरहेको नेपाली नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने सरकारले निर्णय गरेको छ ।