सडकमा रहेका बेसहारालाई सहारा
अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका–६ का युवा दीवाकरलाल चौधरीले बन्दाबन्दीको १ सय ८ दिनसम्म ४५ जना सडक मानिसलाई खाना खुवाउनु भएको छ । सडकमा बेसहारा अवस्थामा रहेका उनीहरुलाई बन्दाबन्दी भएको एक सातापछि अर्थात् चैत १७ गतेदेखि उहाँले खाना खुवाउन शुरु गर्नुभएको हो । विभिन्न संघसंस्था र स्थानीय सरकारको नजर नपुगेको देखेपछि मानवीयताका हिसाबले सडक मानिसको खोजी गर्दै तयारी खाना वितरण गरेको उहाँको भनाइ छ । “सबैभन्दा ठूलो कुरा मानवीयता हो”, उहाँले भन्नुभयो, “विपन्न परिवारहरुलाई स्थानीय सरकार र विभिन्न संघसंसस्थाले राहत दिएको देखियो, तर घरवारविहीन सडक मानिसतिर कसैको पनि ध्यान जान सकेन/ सकेको छैन ।”
कोरोना भाइरसले आक्रान्त बनेका बेला आफूले पनि सकेको मानवीय सहयोग गर्ने उत्कट चाहनाले नै उहाँलाई सडक मानिसको साथी बनायो । र, दिनैपिच्छे तयारी खाना बनाएर उनीहरु बसेको स्थानमा पु¥याउन युवा चौधरी पुग्न थाल्नुभयो । झापाको चारआली, बिर्तामोड, चारपाने, शनिश्चरे र बिर्ताबजारका बजार र गल्लीगल्लीमा कष्टकर जीवन बिताइरहेका सडक मानिसलाई सेवा गर्न पाउँदा उहाँलाई आत्मसन्तुष्टि मिलेको छ । “खाना लिएर जाँदा मलाई पर्खिरहेको पाउँथे”, उहाँले खाना लिएर जाँदाको अनुभव सुनाउनुभयो, “मलाई देखेपछि उनीहरुको अनुहारमा जुन खुसी देखिन्थ्यो त्यसले मलाई सहयोग गर्न ऊर्जा मिल्थ्यो ।”
खाना दिँदा दुव्र्यवहारमा परेकी एक सडक महिलाले खानाको प्याकेटले उल्टै हिर्काएको उहाँको तीतो अनुभव पनि छ । तर, फेरि अर्को खानाको प्याकेट दिँदा लिएको र त्यसपछि आफैँ क्रमशः आएर लिने गरेको पनि उहाँ सुनाउनु हुन्छ । सोही क्रममा प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्रीको पहलमा तीन जना सडक महिलाको उद्धार समेत गरिएको उहाँ बताउनुहुन्छ । “सडकमा भएका सबै मानिस पागल र नपढेका हुँदैनन् रहेछ”, स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका चौधरी भन्नुहुन्छ, “सडक पेटीमा बस्ने एक जना फरर‘ अंग्रेजी बोल्ने र पढा लेखा मानिस पनि पाएँ ।” सडकमा भएका मानिसलाई उद्धार र उपचार गरे उनीहरु समाजमा पुनस्र्थापित हुने उहाँको विश्वास छ । त्यसका लागि स्थानीय सरकार र सरोकारवालालाई पहल थाल्न उहाँले आग्रह गर्नुभयो ।
खाना खुवाउन दैनिक रू तीन हजार खर्च हुने गरेको उहाँले बताउनुभयो । सडक मानिसलाई खाना खुवाउन थालेपछि अरुतिरबाट सहयोग पनि मिल्न थाल्यो, दिवाकरलाई । अमेरिकाबाट शान्ता राई सुब्बाले रू ५८ हजार ८ सय २०, अमेरिकादेखि नै मोहित अधिकारीले रू २४ हजार २ सय ३, बिर्तामोड–१ का प्रवेश बस्नेतले रू १० हजार, बिर्तामोडकी पार्वता खरेल बिमलीले रू पाँच हजार र कञ्चना ढकाल सिटौलाले रू पाँच हजार स्वेच्छिक रुपमा सहयोग गर्नुभयो । त्यस्तै, बिर्तामोडका रोहित प्रसाईंले रू १० हजार बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभयो भने अन्य विभिन्न संघसंस्था र व्यक्तिले यथासक्य सहयोग गर्नुभयो । “मैले कसैले सहयोग गर्छ भन्ने आशले खाना खुवाउन थालेको होइन”, उहाँले भन्नुभयो, “तर, राम्रो काममा सबैले सहयोग पाइँदो रहेछन् ।”
खाना पकाउने र प्याकेट बनाउने काममा उहाँले परिवारको साथ पाउनुभयो भने खाना पकाउने सामग्री स्थानीय भीमसेन थान मन्दिरबाट सहयोग पाउनुभयो । निरन्तर खाना खुवाउँदै आउनुभएका दिवाकरले बन्दाबन्दी खुकुलो भएसँगै अभियानलाई शनिबारदेखि स्थगित गर्नुभएको छ । तत्कालका लागि अभियान स्थगित गरे पनि अवस्था र आवश्यकताको आधारमा आगामी दिनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।