तस्करले स्थानीयलाई कुटेर घाइते बनाए

मेचीनगर । आइतबार साँझ मेचीनगर १ देवीगञ्जका एक स्थानीयले बिना कसुर गम्भीर घाइते हुनेगरी तस्करहरुको कुटाई खाएका छन् । स्थानीय अनुस किरातीले दिएको जानकारी अनुसार आइतबार साँझ ७ बजे जंगली हात्तीको डरले टर्चलाइट वरिपरी देखाउँदै तिरिङ खोला तर्दै गरेका अनिल लिम्बूमाथि हातपात भएको हो ।

उनले बोकेको लाइटको प्रकाशले केही मानिसहरु देखिएका थिए । जंगली जनावरको डरले टर्च लाइट बालेका उनले मानिस देख्दा वास्ता नगरी अगाडि बढेपनि अवैधरुपमा भारततर्फ सामान ओसारपसार गर्नेहरुको एक समूहले उनलाई कुटपिट गरेका हुन् । पहिले उक्त समूहले पिडीत अनिलसँग लाइट देखाएको भनी एक्कासी निहुँ खोजेका थिए । ‘किन हामीतर्फ लाइट लगाएको भन्दै निहुँ खोजेर त्यो समूहले आफूमाथि अन्धाधुन्ध कुटपिट गरे’ बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचाररत अनिले बताए् । ‘उनको टाउको र अनुहारमा गहिरो चोट लागेको छ’ साझामञ्चका नियमित पाठक किरातीले भनेका छन्, ‘घटनाको विषयमा तत्कालै गाउँमा हल्ला भएपछि ती व्यक्तिहरु फरार भएका थिए ।’

पिडितको तर्फबाट सोही राति तिरिङ चौकीमा उजुरी गरेको पिडीतका आफन्त मोहन लिम्बूले बताए । तर चौकीले राति कुनै चासो नदेखाएको पिडित पक्षको भनाई छ । रातको समयमा सुपारी तस्करी गर्दै आएको समूहले अनिलको टर्चलाइटको प्रकाश देखिएपछि एक्कासी हातपात गरेको मोहनले बताए । अनिललाई बिनाकसुर कुटेर घाइते बनाउनेहरुको समूहमा रहेकाहरुको नाम किटान गरी परिवारले कारबाहीका लागि प्रहरीमा उजुरी गरिएको छ । तर प्रहरी चौकी तिरिङका सई कमल कार्कीले राति नै तिनीहरुलाई पक्राउ गर्न प्रयास गरेपनि सम्भव नभएको जिकिर गरेका छन् । पिडीतको किटानी जाहेरी पछि केहीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको स्थानीयले बताएका छन् । तर, प्रहरी चौकीका इन्चार्ज सई कार्की चाहिँ पिडित अनिलले नै मादक पदार्थ सेवन गरी भनाभन हुँदा सामान्य हातपातमात्र भएको भनी दोषीलाई उन्मुक्ति दिन खोजिरहेको स्थानीयको आरोप छ ।