निजी विद्यालयका शिक्षकलाई तलब उपलब्ध गराउने
भद्रपुर । निजी विद्यालय सञ्चालकहरुले बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इष्टुसंग विद्यालय सञ्चालक संस्थाहरु प्याव्सन, एन प्याव्सनका प्रतिनिधिबीच भएको छलफलमा चैत्रसम्मको तलब निकासा गर्ने, बैशाख, जेठ र असारको तलब पनि क्रमशः दिदै जाने लगायतको सहमति भएको इष्टुका अध्यक्ष होम राज खतिवडाले जानकारी दिए । सहमति पछि इष्टुले आफनो घोषित प्याब्सन र एन प्याब्सन विरुद्धको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
तर साउन ७ र ८ गतेका लागि तय भएको विरोधका कार्यक्रम भने यथावत रहेको उनले बताएका छन् । विद्यालय सञ्चालकहरुले कोरोना महामारीका कारण विद्यालय वन्द भएको समयको शिक्षक तथा कर्मचारीको तलव खुवाउन नसक्ने जनाएपछि इष्टुले दवावमूलक आन्दोलन गरिआएका छन् । कोरोना महामारीका कारण संस्थागत विद्यालय सञ्चालन, व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याव्सन र एन प्याव्सनले साउन १ गतेदेखि वैकल्पिक सिकाई कार्यक्रम समेत बन्द गरेर शिक्षकलाई बेतलबी विदामा बस्न आग्रह गरेका थिए ।