नेपालमा आज १८६ कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा आज थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन १ सय ८६ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा चार हजार २१६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको छ। आइसोलेसनमा ५ हजार ९३६ जनाको उपचार भइराखेको छ । सक्रिय संक्रमित को संख्या पाँच हजार ९ सय ३६ रहेको मन्त्रालयले जनाएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ११ हजार ८ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ सय ७३ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत हो ।
मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका सात जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा संखुवासभा, मनाङ र मुस्ताङ गरी सात जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।