सशस्‍‍त्र प्रहरीको पोष्टमाथि अज्ञात समूहले आक्रमण

गौरीगन्ज । झापाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका वार्ड नं ५ स्थित डाँगीटोलामा रहेको शसस्त्र प्रहरीको पोष्ट माथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई जना प्रहरी जवान घाईते भएका छन् । नेपाल– भारत सीमा क्षेत्रको शसस्त्र प्रहरी पोष्ट माथि गएराति ९ वजेर १५ मिनेट समयमा करिव ४० र ५० जनाको संख्यामा आएको घरेलु हतियारीहरुको एक समूहले आक्रमण गर्दा दुई जना प्रहरी जवान घाईते भएका हुन् । घाईते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताईएको छ ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३ सय मिटर पूर्वमा रहेको अस्थायी शसस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ४ राउण्ड हवाई समेत फायर गर्नु परेको सीमा सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमण श्रेष्ठले बताए । झडपमा आक्रमणकारीहरुले भाला, खुकुरी, रड, दाउलगायतको घरेलु हातहतियार प्रयोग गरेका थिए । हवाइ फायर पछि आक्रमणकारीहरु तितरबितर भएका भारततर्फ नै भागेको प्रहरीले जनाएको छ । भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । लामोसमयसम्म लकडाउनका कारण सिमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र वनाउदै आएपछि तस्करीहरुले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् । सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको छ ।