लक्ष भन्दा कम राजश्व संकलन
भद्रपुर । आर्थिक वर्ष २०७६।७७ को असार मसान्त सम्ममा २० करोड ६९ लाख २२ हजार रुपैयाँ राजश्व संलन गर्ने लक्ष्य लिएको भद्रपुर भन्सारले लकडाउनका कारण १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५।७६ को असार मसान्त सम्ममा १९ करोड १८ लाख ७९ हजार २ सय १५ रुपैयाँ राजश्व सङ्कलन गर्दै आएको भन्सार २०७७ चैत्र ११ गते देखि जेठ ३२ गते सम्मको लगातारको लकडाउनका कारण राजश्वमा भारी गिरावट आएको हो ।
लकडाउनका कारण चैत्र महिनामा ४१ लाख ९५ हजार रुपैयाँ, वैशाखमा १४ हजार र जेठ महिनामा २ लाख ८४ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख फणीन्द्र खतिवडाले बताए । २०७६ फागुन सम्म कार्यालयले लक्ष्य अनुरूपको राजश्व सङ्कलन गर्न सफल भए पनि चैत्र देखि जेठ सम्मको अवधिमा उक्त लक्ष्य पुरा हुन नसकेको उनले बताए । लकडाउन खुलेसँगै असार महिनामा मात्र लक्ष्यभन्दा केही कम १ करोड ४६ लाख ९० हजार रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका नायव सुब्बा वीरेन्द्रनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार असारमा मात्र १ करोड ७२ लाख ४४ हजारको लक्ष्य रहेको थियो । लकडाउनका कारण चैत्रमा २६ प्रतिशत ,वैशाखमा ०।०८ प्रतिशत र जेठमा १।५३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको पाण्डेले बताए ।
भारतको गलगलिया भद्रपुर जोड्ने मेची पुल निर्माण कार्य सम्पन्न भएसँगै २०७५ असोजबाट मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सार कार्यालयले २ वर्षअघि आर्थिक वर्ष २०७४।७५ को असार मसान्त सम्मको एक आर्थिक वर्षमा छोटी भन्सारको मान्यता अन्तर्गत रहँदा समेत १२ करोड १६ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । हाल यसै कार्यालयको मातहतमा केचना छोटी भन्सार र कुमरखोद भन्सार कार्यालय रहेका छन् । यस नाका बाट भारतको विहार तथा पश्चिम बंगालको सिलीगुढी, कलकत्ता लगायतका स्थानबाट चिया उद्योगका प्याकेजिङ्ग, उद्योगका पार्टस् ,तयारी चिया, सुर्ती, लत्ताकपडा, तरकारी लगायतका विभिन्न सामनाहरू आयात हुने गरेको छ ।