इस्टु भद्रपुरले नगर शिक्षा समिति र प्याब्सनलाई बुझायो ध्यानाकर्षण पत्र
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले सदरमुकाम भद्रपुरमा सुरू गर्न लागिएको पठनपाठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै प्याब्सन, एन प्याब्सनको असार ३१ गतेको निर्णय सच्याउन माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।
गएकै शैक्षिक वर्षको विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई दिइनु पर्ने पारिश्रमिक नदिइ प्याब्सन, एन प्याब्सनको नाममा राज्यको कानुन विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेको बिरोध गर्दै सदरमुकाम क्षेत्रमा सञ्चालन गरिन लागेको कक्षा विगतका सहमती कार्यान्वयन नगरी सुचारू नगर्न अनुरोध गर्दै भद्रपुर नगरपालिका तथा नगर प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगर शिक्षा समितिका अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सचिव खिलनाथ पाण्डे निकास, उपाध्यक्ष विदुर ढुंगाना तथा अध्यक्ष द्रोण अधिकारीद्वारा सम्युक्त हस्ताक्षर गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ — श्रीमान् नगर शिक्षा समिति भद्रपुर अध्यक्षज्यू मिति २०७७ जेठ ५ गते तपाँइको संयोजनमा प्याब्सन एन प्याब्सन भद्रपुर नगर समितिले इस्टुसित गरेको सहमती २०७७ साउन ४ गतेसम्म आइपुग्दा कार्यान्वयनको चरणमा पुग्न नसकेको प्रति गम्भीर आपत्ति प्रकट गर्दै ध्यानाकर्षण गराउन चाहन्छौं । जेठ १५ गतेभित्र भद्रपुर नगर क्षेत्रका प्याब्सन तथा एन प्याब्सनमा आबद्ध विद्यालयहरूले शैक्षिक वर्ष २०७६ को बाँकी रहेको सम्पूर्ण शिक्षक तथा कर्मचारीको तलव भुक्तानी गर्ने सहमती भएकोमा हालसम्म २० वटाभन्दा बढी विद्यालयले अहिलेसम्म पनि तलव भुक्तानी गरेका छैनन् । शैक्षिक वर्ष २०७७ सालको ३ महिना पनि पूरा भयो । यस अवधिमा अधिकाम्स विद्यालयले भर्चुअल कक्षाका नाममा समेत शिक्षक कर्मचारी परिचालन गरिरहे । शिक्षक कर्मचारीले पटक पटक तलव भत्ता मागे पनि विभिन्न बहना बनाएर परिश्रमिक दिएनन् । यसबीचको अवधिमा नगर सरकारसित श्रमजीवि शिक्षक कर्मचारीको समस्या अवगत गराएर २ पटक ज्ञापनपत्र पनि बुझायौं । नगर सरकारले भोकमरीमा परेका आफ्नै नगरका बासिन्दा समेत रहेका शिक्षक कर्मचारीको पक्षमा कुनै निर्णय र निकाश दिन सकेन । सहेरै बसेका थियौं तर, २०७७ साल असार २५ गते नेपाल सरकारले समेत गर्न नसकेको निर्णय भद्रपुर नगर सरकारले गरेछ । त्यो निर्णय थियो — भद्रपुर नगर क्षेत्रमा विद्यालय सञ्चालन गर्न अनुमती दिने । के नगरपालिकालाई जानकारी थिएन ? कोरोनाको संक्रामक महामारीमा गरिने शिक्षणमा सहभागी हुने शिक्षक कर्मचारीको प्रतिनिधित्व सहित छलफल हुनु पर्ने थियो । यहाँ नगर क्षेत्रमा रहेका एक हजार दुई सय बढी शिक्षक कर्मचारीको सहमती नचाहिने तर ३३ वटा विद्यालयका सञ्चालकको स्वार्थ र आवश्यकता मात्र पूरा गर्न नगर सरकार गठित हो त ? यस प्रश्नको उत्तर खोजिरहेकाछौं ।
भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनु पर्ने पारिश्रमिक रोकेर रमिता देखाइ रहेका छन् । प्याब्सन एन प्याब्सनको नाममा २०७७ असार ३१ गतेको निर्णयले देशभरका संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई सामुहिक बेतलवी विदा दिने कानुन विपरितको कार्यप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ । भद्रपुर नगर प्याब्सनले २०७७ साल साउन १ गते बैठक मार्फत केन्द्रको निर्णय सदर गरिसकेको वर्तमान अवस्थामा यहाँ सञ्चालित विद्यालयहरूले शैक्षिक वर्ष २०७६ सालको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर अन्याय गरिरहेका थिए नै शिक्षक कर्मचारी निकाल्ने परिपञ्च रचेर सामुहिक विदा दिएको प्रति हाम्रो गम्भीर आपत्ति छ । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक समेत रोकेर बाहना बाजी गर्नु श्रमप्रतिको अपमान पनि हो । संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव रोकेर विद्यालय सञ्चालकहरूले बौद्धिक श्रमिकको बाच्न पाउँने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहर गर्दछौं । वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति हामी खेद प्रकट गर्दछौं ।
हामी राज्यको नियम कानुनको कार्यान्वयन होस् भन्ने चाहन्छौ । त्यसैकारण नगर सरकारसित रहेको नियमनको जिम्मेवारी र अधिकार प्रयोग गरी शिक्षक कर्मचारीको असारसम्मको तलव दिने वातावरण तयार गरिदिनुहोस् । साउनदेखि सञ्चालन गरिने भनिएका कक्षा सञ्चालन गर्नु पूर्व अगाडिका महिनाका सवै पारिश्रमिक भुक्तानी हुने वातावरण तयार गरिदिन अनुरोध गर्दछौं । यदि नगर सरकारले शिक्षक कर्मचारीका मसस्या समाधानका लागि पहल नगरे शान्तिपूर्ण रहेको आन्दोलनले अर्कै स्वरूप ग्रहण गर्न सक्ने जानकारी समेत गराउँदै तत्काल कक्षा ९ र १० को पठनपाठन पूर्ण रूपमा रोक्न अनुरोध गर्दछौं ।
यसैबीच भद्रपुर प्याब्सन, एन प्याब्सनलाई जेठ ५ को सहमती कार्यान्वयन गर्न सुझाउँदै यस शैक्षिक वर्षको पठनपाठन सुचारूको निर्णयमा पुग्न माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ । प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सरकार, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीको भावनामाथि प्रहार गर्ने काम अविलम्ब रोक्दै जिम्मेवार बन्न अनुरोध गरिएको छ ।