गौंथलीको बाऊलाई नेता ठानेरै कुकुरले ठाढै खेद्या हो ?
— व्यंग्यनारान पाँडे —
…..राष्ट्रको सर्वोपल्लो अख्तियारशाली सम्माननीय आसनमा जनताका पवित्र रोजाइबाट प्रतिष्ठापित धेरै ‘साविकका भूइँ–मान्छे’ इतिहासको आदिदेखि यो वर्तमानसम्मै विभिन्न राष्ट्रमा वरेण्य र प्रिय छन् । तर, नेपालमा त्यसरी नै प्रतिष्ठापित एउटा मान्छे, महाभारत–कथामा जस्तै, ‘शकुनि मामा’–हरुका अन्तरध्वंशी सल्लाहरुपी उदरम्भी षडयन्त्रमा विमूढ बन्ने गल्तीका कारण परिहास्य–पात्र बन्न पुगेर उसका सम्पूर्ण श्रेय–सौष्ठव ध्वस्त भएको अनुनाद भूगोलका सबै खण्डमा सुनिन थालेको छ । बहुसंख्यक सैन्यको अहंकार नै महाभारत युध्दमा कौरवको हारको मुख्य कारण हो भने त्यस्तै अहंकारको दम्भन डकार्दै आफू ‘एक्लै कुदेर’ आफै आफूलाई ‘प्रथम घोषित’ गर्ने र चक्रवर्ती सम्राट भएको दम्भ राख्नुको दुष्परिणाम अर्को के नै पो हुन्थ्यो र ! …..यी पात्रका पूर्ववर्ती गुणहरु सम्झँदै म सहानुभूतिभित्र सत्यको चिरन्तन् परिणाम कल्पँदै र हिल्लोलित हुँदै अभ्यन्तरमा डुबिरहेको थिएँ—चौपट्टै फुर्किदै गौंथलीको बाऊ टुप्लुक्क आइपुगे ।
उनले यति भन्दाभन्दै मेरो टाउको रननन तात्यो र जुरुक्कै उठेर उनको कठालो समाउन लम्केको उनले उनी बसिरहेको कुर्सीले मलाई आल्झाएर भागे । मैले खेदिन । बरु भ्याङ्ले कोट पखेटा पारेर उनी कुदेको देखेर होला, बाटोमा के–के सुँगिरहेको, पल्लो घरको कुकुरले भुक्तै ठाढै खेद्यो ! …..म त्यो दृश्य हेर्दै ठूलो भोलममा हाँसें अनि उनले सुन्नेगरी कराएँ–“नेता भनेर चिन्यो क्यार । पर्खेर सुनिदिनु क्या त्यसले के भन्दैछ ।”…..
उनी गेटबाट छिरेर आँगन टेक्ताटेक्तैदेखि भन्दैथे–“लु खा त, धेरै ज्यान मार्ने चई ठूलो मान्छे हुने रानीतिकको पोल्टिकल न्याम थ्यो भने हामेरको बस स्टीसनको बगरे भइया र माईबगरको जलारी माइलो दोडाका दोडै नेपालका त के इन्ड्या–पाकिस्थानका पनि सिरि पान्सर्खार मउसुप भइसक्ने थेनन् होला त ? तो बगरे भइयाले ऊ चौद बर्खको हुँदा उस्को बाऊ बितेसि बाऊको पेशो समा’र खसी, बोका, बूढी बाख्री र लिखे पाठा–पाठी रेट्न र काट्न थालेर बूढो भइसको । तेल्ले, कति कडोर त किन भनम्, कति लाखको ज्यान मारो होला ? तपइँ नै एकाउटेन गर त पाँडे भाइ । तेस्तै, तो माईखोले जलारी माइलोले गउँथलीकी मम्मीसित मेरो शुबबिबा हुँदा देखुन् ऐलेसम्म माच्छा मार्यामार्यै छ भने तेल्ले कति लाख जल्चर मारो होला ?…..जे पा’तेइ काम गर्नु रानीतिकको पोल्टिकल बादुरी हुन्छ त ? ऐले यो लो’तन्त्रको गनतन्त्रमा तेस्तो नाथे पापकर्म गर्नु पनि पोल्टिकल एब्बिलिटिङ हुन्छ त ? तपइँ नै एछिन् भाउक भऊ र बिभेक गर त पाँडे भाई ।”
लौ हेर्नोस् जनताभित्रको म र वर्तमान राजनीतिभित्रका (?) गौथलीको बाऊमा देश र परिस्थितिलाई हेरेर बुझ्ने क्षमतास्तरको बिराट भिन्नता ! हुन त पाखे पृष्ठभूमिको टाठो–बाठो, चाहे ऊ सर्वोपरि आसनमा पुगे पनि, यस्तै पाखे वकवेदान्ती उट्पट्याङ हाँक्ने सीपव्दारा आफूलाई सर्वज्ञ र मौका पर्दा विश्व–नेतामध्येकै मान्दैछन् भने गौंथलीको बाऊ त ठेट्ने–ठट्यौले पाखे बूढा मात्र न हुन् । उनी बेलाबखत ‘हामेरको पाटी–परिवार आट लाखको छ । स्यानो छ भन्छौ ?’ भनेर हाँक दिने गर्छन् । यो हिसाव उनले कहाँबाट थाहा पाएका हुन भन्ने उनै जानुन् । त्यो संख्यामध्ये उनी जस्ता ठट्यौला चाहिँ कतिजति होलान् ? हिजोआज गाउँ–टोलमा कतिपयले यस्तो चासो राखेको पनि सुनिन्छ । …..
उनका ती कुरा सुनेपछि मैले निःजाँगर स्वरमा भनें–“कसले के खालको हत्या कति गर्यो भन्ने पनि कतै राजनीतिक प्रतिस्पर्धाको विषय बन्दैछ र ? अर्थात्, कसले कति कुख्रा–बाख्रा रेटेर–काटेर मार्यो, कसले कति माछा मार्यो र कसले के–कति केजातिको हत्या गर्यो भन्ने मात्रा पनि राजनीतिको हिसाबमा त नजोडिनु पर्ने हो ।”
उनले मलाई हियाउँदै भने–“थुक्क ! तपइँको बुध्दिको डेप्लोमेन कैले हुन्छ र मैले पालो पाउनु ? हन मैले कुख्रा–बाख्रा, माच्छामाच्छी, राँगा–भूइँसी मार्नेका कुराको सिटाइरिङ खेल्या जइसो सिम्पुल कुरो गर्या तपइँले अन्डरस्टानिङ गर्न नजान्या नै होउ ? क्यातिका लागि एतिओडा क्यातिको खुन् गरें र एति बर्ख झ्यालखान बसें भन्नु कुनै प्राकर्म र बादुरी हो र ? जुध्दको शुबनाममा भको हत्ते–हिम्सा, टोडफोड, धङ्स–बिधड्सको कर्ता म हूँ भन्दै डर–तरास्को ह्याङगोबर घट्न नदिइकन…..थइत्, के–के आउँछ हउ मेरा जिब्राका बोलिमा, तेस्यामालाने, छ्या ।…..तपइँले साश्र पिटिस्सै पढ्या छौन र म जइसो साश्रका पोस्तकहेरु खर्लप्पै निल्या बिद्देबार्दीले अ भनिसक्ता अलङकार बुद्दौन । सासले बाँचेका सप्पै जीब एउडै हुन्, नो वान्ली वान अल्सो डिफरेन भन्ने छापिया छन् साश्रहर्मा । तेस्सैकारन हत्ते–हिम्साको माम्लोमा बजारको बगरे भइया र माई खोलाको पर्मानेन जलारी माइलो कोइभन्दा कम छैनन् । कोइभन्दा पटक्कै नट् फिउ हुन् भन्ने मलाई लाग्या हो । साश्रले भन्या कुरा नमान्न अथ्वा अनभेलिट भन्र क्यारलेस नगर्न तपइँ र मेरो छेत्रको एरिआमा घरबास गर्ने कस्सैलाई पनि म एल्लाउ गर्दिन । यो मेरो फस एन लास वार्लिङ नै हो ।”…..
मैले चिरिक्क हुँदै सोधें–“तपाईंले कुन–कुन शास्त्र पढ्नु भएको छ ? कि बेसारको फाँको मारेर तातोपानीले स्वात्त निल्दा र हाच्छिउँका हाच्छिउँ काड्दा कोरोना भाइरस च्वाट्टै निको हुन्छ भन्ने महाविज्ञ (?)–कै पाङदुरे बठ्याइँको सिको गरेको हो नि ?”
उनले प्रचण्डशैलीमा मुन्टो लच्काउँदै भने–“मैले कति साश्र पढेको छु भन्र नाम–नाम मात्तै शुरुको स्टाटिनदेखुन् अन्तिमको लास्टसम्म भन्नु हो भने इ ऐले बेहानको नउ बजी ट्यामदेखुन् भरे बेल्काको राती नउ बजी बेलासम्मको ट्याम छिर्लिप्पै जान्छ । …..कोर्ना भाइरोसले औरात्र नै पर्गति–पोर्गेस अगि बढाइराख्या एस मामारीका उपलच्छेमै तो पढ्के हुलहुल्या फट्याङरे किरो पनि बाल्नाली र बोटबिर्वामाथि एटेक गर्न रानीतिकको पोल्टिकल सोस्थेमा, के अजिर्न भ’र हो कोनि,ठूलो गड्बडेशन भइराख्या छ । एस्ता ट्याममा मैले पढेका असङ्खे साश्रका बिबर्न दिन कसरी भ्याउनु ? फेरि यो रानीतिकको पोल्टिकल झ्याउलोले गर्दा अच्कल कतिपए दुईचाडा पोस्तकका नाम मात्तै आउँछ बेस्मारी कन्दा, धेरैपएका त नामै बिर्सिसकें । कुन साश्रको पोस्तकमा कुन कुरो भन्या छ, कुनमा के भन्ने त झ्यान तिनै पोस्तकका पेच नपल्टाई अब मेरो सम्जनाको म्यामोरीमा आओस् त मर्रिजाउँ ! थोप्पै आउँदैन पढ्के !”…..
मैले हाँस्तै सोधें–“अनि मलाई किन शास्त्रको धाक दिएको त तपाईंले ? कि माथिदेखि तलसम्मै तुक्का, लबस्तर्याइँ र लिच्चड्याइँ, भ्रष्टाचार्याइँ र जबरजस्त्याइँ, लुच्च्याइँ चलिरहेको अवस्थामा तपाईंहरुको निजी राजभाषा हामी जनताले सोझै बुझ्ने हुँदैन, हँ ?”
उनले खत्खत् हाँसोसँग बोली गिजोल्दै भने–“तो त तेसै पनि हो र त सर्खारका र मेरा हरिराम्रा कामहर्को पर्सम्सा नगरेर खाली बिरोद भइराख्या हो । हामेर्ले ‘पञ्चशील’ भनिराख्या हुन्छौं, तपइँहर्का हर्रामी पोचो कानले ‘हाइडोशील’ सुनिराख्या हुन्छ– हामेर्ले गरेका राम्रा कामको ‘हिम्मालचुली’ भनिराख्या हुन्छौं, तपइँहर्का कानका हर्रामी दुलाले ‘कुख्राको सुली’ सुनिराख्या हुन्छ, हामेरले ‘हनुमान’ भनिराख्या हुन्छौं, तपइँहर्का पच्छेपाती कानका टोड्काले चाइँनेकेरे ‘बइमान’ सुनिराख्या हुन्छ । यइ त भइराख्या छ नि ऐले हामेरको बौमतको राम्राज्जेका लागि भूर्नहत्ते र ट्यान्सिनको खड्गो !”
उनी भन्दै गए–“माथिका नरेश कम्रेटहर्लाई रानीतिकको पोल्टिकल गड्बडाइजेसनले घेरिरछ । देशलाई चाइनातिराड पसेको कोबित नाएनट्यानको कोर्ना भाइरोस् र इन्ड्यातिरको भार्तीए भूइँतिराड पसेका फट्याङ्राले छुल्छुल खेलाइराख्या छ । फेरि कोर्नाकै उपलच्छेमा लक्डाहुन लागेदेखुन् डेलीको दइनिक चारो जुटा’र जीबन धानिराख्या एस देशका धेरैपए जन्ता भोक्भोक्कै परिराख्या छन्, हामेरका अदच्छे पर्चण्ड जइसा थोरैपएले न लक्डाहुनलाई रमाइलो मान्दै घरैमा ढुक्कसँग बसी साथीभाई भेला गरेर चाइँनेकेरे छतमा मासु पोलेर खाँदै रम्मैलो गर्दै होलान् । एस्बेला माथ्ला नरेश खलक कम्रेटहेरु पोल्टिकल गडबडेरेसनको असारे हिलो खेलेर रानीतिक रोपाइँका बाउसे गर्न बिज्जीका बिज्जीमा छन् भने कोर्नाको फाँट, फट्याङ्राको फाँट, सर्मिकमदुर र गरीप–गुर्बाहर्लाई हेर्ने फाँट, बइदेसी रोचकारीबड धुर्ने दिदी–बुइनी र दाजु–भाइहर्लाई क्वारेन्ट्यानमा थुन्ने अनि कुहेकै भा पनि चामल उसिनेर ख्वाउने फाँट, राहातको बज्जेट, बाँदरले रोटी जोखेको कथा जइसै भए पनि गनेर एकाउटेन गर्ने फाँट इत्तेदि याओत फाँट हामेरु छेत्र–छेत्रका एरिआ–एरिआका ठूलाठाला कम्रेटले समाल्नु परिराख्या छ । एस्तो बिज्जी ट्याममा याँ आफ्लाई आफ्नी मिस्सेस रामदुलारीलाई च्यास्स सम्जिने त फुर्सुत छैन भने काँ मैले घोकेका उत्तिका हज्जारउँ साश्रको कैरन लाउन मलाई ऐले फुर्सुत होस् त ? तपइँ कुरै नबुजी मुखाँ जे आ’तेइ बोल्छौ हउ पाँडे भाइ ? ऐले सर्खार कल्ले चलाइराख्या छ भन्ने था छैन ? ती बइदेशी रोचकारीबड घुरेकाहेरु भन्दा नि गएको गत एलेक्सिनको भोटमा गरीपको पाटी, घरघरै सिम्मदर्बार लेराउन लाग्या पाटी, घरघरै गोबरग्याँसका पाएप पुर्याउने पाटी, चाइनाबड रेलगाडी र इन्ड्याबड पानीजाज लेरा’र सुविदा दिन लाग्या पाटी भन्र भोटदान गर्ने जन्ताको हाल–बेहालको क्यान्रमा डाइरेक रिपोटिन गर्ने अइभारा काँदमा बोकेर पत्रकार गरिराख्या सिन्यार व्यात्तित्तो समच्छे बोल्दा अलि डिस्पिलिन राख्नु पर्थ्यो कि पर्दैनथ्यो ? म भनेको कालमास–ल्यालिन जइसा बिस्स–सन्सारका सिरिकिस्न–बिस्नु भग्वान ब्राबर । धर्मगुरुहर्को सिधान्तता, आदर्सता, धर्मता र कर्तब्बेता रिट्ठो नबिराई मान्ने एस छेत्रभरिको एरिआको सिन्यारतम् पर्सोनालिटिच पो हूँ त । तपइँ जइसा फुस्रालाई के था छ ? उ तो बाटामा लिन्ठिङ–लिन्ठिङ हिनिराख्या कुक्कुरलाई पाटी भन्या क्या हो– कस्तो हुन्छ ? बौमतको सर्खार भन्या के हो, सर्खारी पाटीका नेता र असर्खारी पाटीका नेतामा के डिफरेन्सिङ हुन्छ ? कमिनिस भनेका नेपालमा कस्ता हुन्छन् ? देश गरीप र नेता धनी हुनु के–कति कारनले नराम्रो होइन ? बौमतको दाइँ र राजइँ कति टेसिलो–गुल्यो हुन्छ ? …..तो लोठ्याँगे कुक्कुरलाई मतलप नभा जइसै तपइँ पनि…..”
उनले यति भन्दाभन्दै मेरो टाउको रननन तात्यो र जुरुक्कै उठेर उनको कठालो समाउन लम्केको उनले उनी बसिरहेको कुर्सीले मलाई आल्झाएर भागे । मैले खेदिन । बरु भ्याङ्ले कोट पखेटा पारेर उनी कुदेको देखेर होला, बाटोमा के–के सुँगिरहेको, पल्लो घरको कुकुरले भुक्तै ठाढै खेद्यो ! …..म त्यो दृश्य हेर्दै ठूलो भोलममा हाँसें अनि उनले सुन्नेगरी कराएँ–“नेता भनेर चिन्यो क्यार । पर्खेर सुनिदिनु क्या त्यसले के भन्दैछ ।”…..