बाढी विस्थापितलाई मेची अभियानले घर बनाईदिने

शिवगञ्‍ज । कनकाई नदीबाट बिस्थापित भएका झापा, शिवसताक्षीकी तारा शेर्माको परिवारलाई मेची अभियानले पक्की घर बनाईदिने भएको छ । नगरपालिकाले जग्गा उपलव्ध गराउने भएपछि करिब रु ५ लाख बराबरको लागतमा यसैसाता देखि घर निर्माण शुरु गरिने मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । अभियानले जिल्लाका अतिविपन्न सहित विपतमा परेका परिवारलाई पूर्नास्थापनाका लागि विभिन्न काम गरिआएको छ ।

नगरपालिकाले शिवसताक्षी ११ स्थित जनता आवास कार्यक्रमको जग्गामा विस्थापित शेर्मालाई पूर्नास्थापनाका लागि मेची अभियानसंगको सहकार्यमा पक्की घर निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमार शेर्माले वताए । यसअघि जनता आवास कार्यक्रमको जग्गामा नगरपालिकाले १२ वटा घर निर्माण गरिसकेको छ । ५ धुर जमीनमा शेर्माले पनि जनता आवासको वनावटमा घर पाउने नगर प्रमुख शेर्माले बताएका छन् । त्यस्तै विस्थापित शेर्माका ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपको समेत माध्यमिक तह सम्मको पठनपाठनको पनि व्यवस्थापन गरिएको शिवसताक्षी २ का अध्यक्ष कुलवहादुर बस्नेतले वताए । वडाध्यक्ष बस्नेतले नै ती बालबच्चाको अभिभावकत्व लिने घोषणा समेत गरे ।

त्यस्तै, पीडित परिवारको जिबीका चलाउन शेर्मालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत अवसर दिने निर्णय भएको जनाईएको छ । नगर प्रमुख शेर्माले पीडितलाई आत्मनिर्भरका लागि सीपमुलक तालिम दिएर उनलाई रोजगारी वनाउन सकिने वताए ।