झापाली व्यवसायीको डेलिगेसन टोली काठमाण्डौंमा
भद्रपुर । नेपाली कृषिजन्य वस्तुको निर्यातमा देखिएको समस्या समाधान गर्न झापाली व्यवसायीको टोली डेलिगेसन लिएर उद्योग बाणिज्य मन्त्रालय गएको छ । सांसद तथा नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङ्, नेपाल हर्बल एसोसिएसनका अध्यक्ष गाविन्द घिमिरे, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की लगायतको टोली डेलिगेसन लिएर उद्योग वाणिज्य मन्त्रालय गएका हुन् ।
टोलीले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसँग कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा अबगत गराउने जनाइएको छ । भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन हुनुपर्ने र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिनु पर्ने लगायतका बिषयमा सचिव अर्यालसँग छलफल गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
‘नेपाली अलैंची बजारमा पाँच सय रुपैयाँमा प्रतिकिलो कारोबार भइरहेको छ’, अध्यक्ष राजकुमार कार्कीले भने, ‘तर भारतले ५ सय रुपैंया प्रतिकिलो भन्सार रेट राखेका कारण व्यवसायी समस्यामा परेका छौँ ।’ नेपाली बजारमा ५ सय प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको भारतीय भन्सारमा भारु ५ सय तिर्न नसकिने उनले बताए । यस्तो अवस्थामा भारत निकासी गर्न नसकिने भन्दै मन्त्रालयका सचिव अर्यालसँग नेपाली बजार अनुसारको भन्सार मूल्य समायोजन गरिदिन आग्रह गरेका छन् । साथै भुटानबाट बङ्लादेश निर्यात गरिने अलैंचीलाई शून्य प्रतिशत भन्सार महसुल र नेपालबाट जाने अलैंचीलाई ३५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ । जसका कारण भुटानबाट आएको अलैंचीसँग नेपाली अलैंचीले प्रतिस्पर्दा गर्न नसकेको भन्दै उनीहले जतिसक्दो चांडो बङ्लादेश अलैंची निर्यातका लागि बाटो खोली दिन र भन्सार छुटको ब्यवस्था मिलाउन आग्रह गरेका छन् । सचिव अर्यालले बाणिज्य मन्त्रालयले परराष्ट्र सहित अन्य निकायमा छलफल गरि समस्याको उपाय निकाल्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताए ।