आज नेपालमा थपिए १०१ जना संक्रमित
काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने आज १ सय १ जनामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ । नेपालमा कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिए । उनको हिजो राति साढे १० बजे मृत्यु भएको थियो । कोरोना संक्रमणबाट प्रदेश एकमा यो पहिलो मृत्यु भएको हो । मृतक मुटुका विरामी थिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभरका २२ हजार ७ सय ५६ क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय ७१ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ ।।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संखुवासभा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।