इस्टु झापाले भद्रपुरबाट सुरू गर्यो प्याब्सन एन प्याब्सन बिरूद्ध आन्दोलन
भद्रपुर । स्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सदरमुकाम भद्रपुरबाट प्याब्सन, एन प्याब्सनको असार ३१ गतेको निर्णय बिरूद्ध आन्दोलन सुरू गरेको छ ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको कानुन विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेको बिरोध गर्दै पूर्वीद्वार भद्रपुरबाट आन्दोलन सुरू गरेको हो ।
विद्यालय सञ्चालकहरूले गएको शैक्षिक वर्षको काम गरिसकेको समयको तलव नदिएकोे, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा जाने निर्णय सहित अभियान थालेको हो ।
भद्रपुर नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षता तथा प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा चन्द्रगढीको लेखनाथ चौकमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले काम गरिसकेको समयको तलव नदिने, देशको नीति नियम बिरूद्ध बेतलवी विदाको नाममा शिक्षक कर्मचारी निस्काशन गर्ने काम ५ दिन भित्र नसच्चिए माफिया गिरिमा चल्न थालेका संस्थागत विद्यालय बन्द अभियानको नेतृत्व इस्टुले गर्ने चेतावनी दिएका छन् । अध्यक्ष अधिकारीले कम्पनी ऐन तथा गुठी नियमावली अनुसार सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई सेवामुखी भावना विपरित कमाउने थलोमात्र बनाएर सञ्चालकहरूले माफिया गिरी चलाउन खोज्नु अभिभावक तथा शिक्षक कर्मचारीमाथिको शोषण भएकोले यस्ता विद्यालयलाई राज्यले हस्तक्षेप गरी सरकारीकरण गर्न माग समेत राखेका छन् ।
युनियनका झापा अध्यक्ष होमराज खतिवडाले सामाजिक न्याय र मूल्यमान्यता बिर्सेर नीति नियममा आबद्ध नहुने विद्यालय बिरूद्ध राज्य कडा भएर प्रस्तुत हुनु पर्ने बताएका छन् । देशका कुनै पनि ऐन तथा नीति नियममा नभएको सामुहिक बेतलवी विदा कानुनमाथिको प्रहार भन्दै अध्यक्ष खतिवडाले साउन २ गतेबाट झापाका कुनै पनि विद्यालयमा कुनै किसिमका पठनपाठन गर्न नदिने घोषणा गरेका छन् । गएको वर्षकै तलव नदिने अनि यस वर्षको तीन महिना पूरा हुँदा समेत शिक्षक कर्मचारीलाई अनलाइन शिक्षण, क्लस्टर शिक्षण तथा अनौपचारिक कक्षा शिक्षण गराउन लगाउने सञ्चालक तलव दिनु पर्ने दायित्व बिर्सेर प्याब्सन, एन प्याब्सनको भूत देखाउँदै शिक्षक कर्मचारी धक्याउन बेतलवी विदाको बाहना बनाएको खतिवडाको आरोप छ ।
कार्यक्रममा इस्टु प्रदेश १ का सहसचिव राजु वरालले कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका अधिकाम्स निजी विद्यालयले आफू मातहतमा रहेका शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना बनाएर तलब रोक्ने काम कानुन बिपरित भएको भन्दै श्रम अदालतको सामना गर्ने गरी तयार रहन चेतावनी दिएका छन् । वरालले भद्रपुर नगर क्षेत्रका विद्यालय साउन १ गतेबाट सञ्चालन गर्न भद्रपुर नगर सरकारले दिएको स्वीकृति तथा अभिभावकको सदासयतालाई नगर प्याब्सनले लत्याएको प्रति आक्रोस पोख्दै विद्यालय परिसरमा आएका विद्यार्थीलाई पढाउनुको सट्टा फिर्ता पढाउने कार्य अपत्तिजनक भएको बताए । सहसचिव वरालले गुणस्तरीय शिक्षणमा अब्बल निजी विद्यालयका शिक्षक कर्मचारी अपमानित हुने वातावरण सधैंका लागि अन्त्य हुनु पर्छ भन्दै विद्यालय सञ्चालक जिम्मेवार रूपमा प्रस्तुत हुन सुझाएका छन् ।
यसैबीच संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरले साउन १ गतेबाट सञ्चालन हुन लागेको कक्षा ९ र १० को नियमित पठनपाठन रोक्ने भद्रपुर प्याब्सनको निर्णय नगर सरकार, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीको भावनामाथिको प्रहार भएको ठहर गरेको छ ।
नगर अध्यक्ष द्रोण अधिकारी तथा सचिव खिलनाथ पाण्डे निकाशद्वारा जारी बक्तव्यमा नगर शिक्षा समितिले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यार्थीको पढ्पाउने अधिकार सुरक्षित गर्न कक्षा ९ र १० सञ्चालन गर्न दिएको सदासय पूर्ण भावनामाथि व्यापारिक कुण्ठाले प्रहार गर्दै प्याब्सन, एन प्याब्सनका नाममा अनिश्तिकालिन बन्द गरेको ठहर गर्दै अभिभावको सद्भाव तथा शिक्षक कर्मचारीको सहनशीलतामाथि प्रहार भएकाले साउन २ गतेबाट कुनै पनि शिक्षणको काम भद्रपुरमा नगर्ने, नगराउने निर्णय भएको बताइएको छ । बक्तव्यमा भनिएको छ—“ नगर सरकार सञ्चालन भए बाधक छुँइन भन्छ, अभिभावक छोराछोरी पढ्न पठाउन तथा शुल्क तिर्न तयार रहे, शिक्षक कर्मचारी पढाउन तथा प्रशासन चलाउन अगाडि बढे अनि विद्यार्थी पढ्न विद्यालयको ढोकामा आइ पुगेपछि अब बढाउनु हुँदैन भन्दै सञ्चालक गेट बन्दको आदेश दिन थाल्छन्। यी सवै कार्य मानवीय भावना र विश्वास बिरूद्धका अभियान भएकाले प्याब्सन भद्रपुरले सार्वजनिक रूपमा माफी नमागेसम्म शिक्षणका कुनै कार्य हुन नदिने प्रस्ट पर्दछौं ।”
झापामा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी ७ हजार बढी छन् भने काम लगाउने अधिकाम्स विद्यालयका सञ्चालकले बन्दाबन्दीको बाहना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनु पर्ने तलव रोकिदिएपछि भोकमरी खपेर शिक्षक कर्मचारीले कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् ।