प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्बित

बाह्रदशी । झपाको बाह्रदशी प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बित भएका छन् । अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्वित भएका हुन् । सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा बिशेष अदालतमा आरोप-पत्र दायर भएपछि प्रमुख प्रशासकीय अधिकृत निलम्बित भएको बताइएको छ । सप्तकोशी नगरपालिका वडा नं २ स्थित सिद्धिपुर चोक– सखुवनी रोड निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी कार्यकारी अधिकृत दाहाल र प्राविधिक समेतको मिलेमतोमा अनियमितता गरेको भन्‍ने व्यहोराको उजुरी दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । त्यस सम्बन्धमा अनुसन्धान हुँदा ६ जना व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले अधिकृत दाहाल निलम्वनमा परेकाहुन ।

झापा गाउँपालिका निवासी दाहाल गत असोजमा तेह्रथुमबाट सरुवा भएर बाह्रदशी गउँपालिका आएका थिए । गाउँपालिकाको गाउँसभा चलिरहेका बेला उनलाई निलम्बन गर्नुपरेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । दाहाललाई निलम्बन गरिएपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेललाई अर्को ब्यबस्था नभएसम्मका लागि निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष राजवंशीले बताएकाछन् ।