दमकमा ग्रामथानमा धिमाल सङग्रहालय

दमक । पूर्वी तराईका आदिवासी धिमालहरुको सघन बसोबास रहेको झापाको दमकमा धिमाल सङग्रहालय निर्माण कार्य भईरहेको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ९ को चियादोकान चोकबाट तीन सय मिटर दक्षिण करिब साढे ५ कठठा जमिनमा अवस्थित चरकपारा ग्रामथानमा धमाधम संग्रहालय निर्माण भईरहेको हो । आफनो कला, संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले ६ वर्षदेखि सङग्रहालयमा आवश्यक पूर्वाधार निर्माण भईरहेको धिमाल जातिय विकास केन्द्र झापाका अध्यक्ष मणिराज धिमालले बताए । उनका अनुसार यो सङग्रहालय निर्माणको प्रारम्भ नागरिकस्तरसहित राज्यलेनै महत्व दिएर बजेट छुट्याउन थाले पछि संग्रहालय बन्ने अवस्थामा पुगेको छ ।

यो सङग्रहालय निर्माणका लागि आर्थिक बर्ष २०७६÷०७७ मा एक नम्बर प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेपछि अहिले धमाधम काम भइरहेको धिमाल समुदाय अगुवा समेत रहेका लोकबहादुर धिमाल बताउछन् । उनकै अध्यक्षतामा सरोकारवालाहरुको सहभागिता रहने गरि एक उपभोक्ता समिति गठन गरेर सङग्रहालय निर्माणको योजनालाई अघि बढाइएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई दमकको पहिलो नागरिक घोषणा गरेर यी समुदायलाई अझै महत्व दिदैआएको छ ।

सङग्रहालयमा धिमाल महिलाहरुले घर भान्सामा प्रयोग गर्ने नाङलो, ओख्लीदेखि पुरुषहरुले प्रयोगमा ल्याउने माछा मार्ने जाल, शिकार खेल्ने तिर, धनुष,कृषि कर्ममा प्रयोग गरिने कुटो कोदालो राखिएको छ । ग्रामथान परिसर भित्र धिमालहरुको मौलिकता झल्किने पेटानी लगायतका सांस्कृतिक भेषभूषासहित कैयौं प्राचिन संस्कृतिजन्य सामाग्रीहरु राखिएको दमक ९ का वडाध्यक्ष रामबहादुर धिमालले वताए । उनले भने,–‘आदिवासी धिमाल जाति सम्बन्धी अध्ययन गर्नका लागि यस सङग्रहालय उपयोगी वन्ने छ । ’

यो ग्रामथानमा स्थानीय धिमालहरुले आफ्नो धार्मिक तथा साँस्कृतिक महत्व बोकेको जात्री पर्वका दिन विशेष महत्वका साथ पुजाआजा गर्ने र मेला बजार लगाउने चलन छ । त्यसो त झापा र मोरङका झण्डै एक सय ठाउँमा रहेका ग्रामथानहरुमा हरेक बर्षको १ बैशाखदेखि नै प्रकृतिको पूजाआजा गरी ग्राम देवतालाई खुशी पार्ने चलन छ । चरकपारामा रहेको यो ग्रामथानलाई भने २०६२ र ०६३ को राजनीतिक परिवर्तनपछि राज्यका निकायहरुको धेर थोर ध्यान जानुका साथै आफना संस्कार, संस्कृतिहरुको संरक्षणमा समेत सहयोग पुरयाँउदै आएको वडाध्यक्ष धिमालले वताए ।

यो सङग्रहालय निर्माणको प्रारम्भ नागरिकस्तरबाट दशकौं अघि शुरु गरिएपनि राज्यलेनै महत्व दिएर बजेट छुट्याउन थालेको उनीहरुको बुझाई छ । सदियौं बर्षदेखि विकास र परिवर्तनको अनुभूती गर्न नपाएका धिमालहरुले पाँच बर्षका बीचमा स्थानीय तह पुनसंरचनापछि भने आफ्नो भाषा संस्कृति संरक्षणमा राज्यको क्रियाशीलता पनि महसुस गर्दै आएको वडाध्यक्ष धिमालको भनाई छ ।