भद्रपुर नाकाबाट कोरोना भित्रिने जोखिम बढ्यो
भद्रपुर । झापाको भद्रपुर नाकाबाट कोरोना भाइरस भित्रिने जोखिम उच्च बनेको छ । यस नाकाबाट आवत जावतमा रोक लागेको भए पनि, आयात निर्यात खुलाएसँगै, भद्रपुर भन्सार कार्यालयमा दिनहुँ क्वारेन्टाइन चेकजाँच र चालक एवम् लेवरको स्वास्थ्यपरीक्षण नै नगरी भारतबाट आएका सामान बोकेका गाडी आउने गरेकाछन् । भारतबाट आउने सवारीसाधनलाई, स्वास्थ्य चेकजाँच र स्यानिटाइजेसनको ब्यबस्था नभएकाले कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम उच्च बनेको हो ।
भारतको पश्चिम बङ्गालस्थित सिलगुडी र विहारबाट अहिले सरसामान आइरहेको छ । ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिरहेको छ । भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेक जाँच गरेकै आधारमा सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन सरासर नेपाल प्रवेश गर्न दिइरहेका छन् । नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारी भारतकै भर परेका छन् । सीमा नाकामा खटाएका प्रहरीलाई स्वास्थ्य सुरक्षाको ब्यबस्था गएिरकोे छैन । यसरी सम्बन्धित निकायले गरेको बेवास्ताले नेपालमा संक्रमण थप फैलनसक्ने भन्दै स्थानीयले चिन्तित र त्रसित बनेका छन् ।
भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाले भारतबाट सरसामान भन्सारमा आइरहेको बताए । सीमा नाकामा भन्सार कार्यालयले सरसामानसहित आउने गाडीको स्यानिटाइज नगरेको बताउँदै भन्सार प्रमुख खतिवडाले भने, ‘भारतको गलगलियामै स्यानिटाइज गरेकै भरमा सरसामानसहित गाडी आइरहेको छ ।’ भन्सार गेटमा हात धुने साबुन पानी राख्नेबाहेक अन्य कुनै सजगता नअपनाएको उनले बताए । वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीका अनुसार सीमा नाकामा पहिला भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीको टोली खटिएको थियो । तर अहिले कुनै स्वास्थ्यकर्मी खटिएका छैनन् । भारतबाट आउने गाडी सोजै भन्सारमा पठाउने गरेको र सामान अन लोड गरी तुरुन्त फिर्ता पठाउने गरेको उनले बताए । सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले भद्रपुर नाकामा खटाएका सशस्त्र प्रहरी निरीक्षक विभु दाहालले भने, ‘म भर्खरै यहाँ आएको हुँ, म आउँदादेखि नै सामानसहित गाडीहरू भन्सार आइरहेका छन् । गाडी, सामान र चालकको नेपालतर्फ कुनै स्वास्थ्य चेक जाँच भएको छैन ’
भद्रपुर भन्सार कार्यालयबाट भित्रिने सामग्री र लत्ताकपडाको पोकाहरू भन्सार कर्मचारीले जाँचबुझ गर्दा, कर्मचारी र कारोबारी वीच सामाजिक दुरी कायम गर्ने गरेको पाइदैन भने उनीहरूले मास्क समेत लगाएका हुँदैनन् । एकै ठाउँमा सामानको पोका भीडभाड गरेर कर्मचारीहरूले हतार हतारमा जाँचबुझ गर्दै आइरहेका छन् । यसले राजश्व समेत चुहावट हुनसक्ने शंका उब्जिएको छ ।