भारतको मणिपुरबाट २१ नेपाली महिलाको उद्धार

काकरभिट्टा । प्रलोभन देखाएर भारतको मणिपुर पुर्याइएका २१ जना नेपाली महिलाको उद्धार गरिएको छ । भारतको मणिपुरमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको माइती नेपालका प्रदेश–१ का संयोजक गोविन्द घिमिरेले बताएकाछन् । लकडाउन भन्दा अघिनै स्थलमार्गबाट उनीहरुलाई त्यहाँ पुर्‍याइएको बताइएको छ । दलालले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुर्‍याएका थिए । उनीहरुको उद्धारमा नेपाल सरारका उप-सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों, भारत स्थित नेपाली दूतावास,भारतमा रहेको उज्यालो होम र माइती नेपालको समन्वयमा उद्धार गरिएको माइती नेपाल १ नम्बर प्रदेश प्रमुख घिमिरेले बताए ।

उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइती नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । उनीहरु मध्ये १२ जनालाई बुधबार काठमाण्डौं लगिने र अन्यलाई कांकरभिट्टाबाटै अभिभवकको जिम्मा लगाउने तयारी भइरहेको घिमिरेले बताए । पछिल्लो समय शिक्षित महिलाहरु नै बेचबिखनमा पर्ने र यसको मुख्य समस्या भनेकै बेरोजगारी भएको उनले बताए । २१ जना मध्ये झापाका दुई जना महिला रहेका छन् । मोरङ,पर्सा, पर्वत, काभ्रे, कैलाली सिन्धुपाल्चोक लगायतका जिल्लाका महिला तथा किशोरीहरु रहेका छन् । २५–४० वर्ष उमेर समुहका महिलाहरु रहेको बताइएको छ ।