दमक नगरपालिकाको शैक्षिक संस्थाहरुमा राजनीति
दमक । दमक नगरपालिकाले कानुन विपरित नगरभित्रका शैक्षिक संस्थाहरुमा राजनीति गरेको भन्दै नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण गराएको छ । नगरपालिकाले आफ्नो गल्ति सच्याउनु पर्ने माग सहित नगर प्रमुखलाई ज्ञापनपत्र बुझाईएको कांग्रेस दमक नगर समिति अन्तर्गत शिक्षा विभाग प्रमुख पर्शुराम रिजालले जानकारी दिए । माग सुनुवाई नभए थप कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी समेत दिए । पत्रका आधारमा बिद्यालय व्यवस्थापन समितिलाई अभिभावक बिहिन बनाईएको र कामचलाउ रुपमा जनप्रनितिधिको नेतृत्वमा गठन भएका बिद्यालय व्यवस्थापन समितिले बिद्यालय हित विपरित काम गरेकोे कांग्रेसको ठहर छ । राजनैतिक उद्देश्यका लागी गठन भएको काम चलाउ समितिले आफ्नो स्वार्थ अनुसार काम गर्दा बिद्यालयहरुको शैक्षिक गुणस्तरमै प्रतिकुल असर पुगेको कांग्रेस नगर सभापति रोशन विष्टले दावी गरे।
समितिले मनोमानी ढंगले बिद्यालयका प्रधानाध्यापकलाई फेरबदल गरी शिक्षकहरुमा आतंक सृजना गरेको भन्दै उनले यसलाई तत्काल सच्याउन आग्रह गरे । दमक ९ को सरस्वती माध्यमिक बिद्यालयमा लामो समय देखी प्रधानाध्यापक नियुक्त नगरेको, बरिष्ठ शिक्षक हुँदा हुँदै नियम बिपरित अर्कैलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको जस्ता कारणले बिद्यालयको गुणस्तरमानै ह्रास आएको भन्दै उनले अविलम्ब सच्चिन आग्रह गरे । नगरपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो राजनीतिक रोटी सेक्ने थलो बनाएकोमा कांग्रेसले त्यसको बिरोध गरिआएको छ ।